२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहलाई लक्ष्य भेट्टाउन चुनौती

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहलाई लक्ष्य भेट्टाउन चुनौती

785
Shares

विरगञ्‍ज । भारत तथा तेस्रो मुलुकबाट आउने विलासी गाडीहरुको आयातमा कमी आएपछि वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट) लाई चालु आर्थिक वर्षमा लक्ष्य भेट्टाउन चुनौती थपिएको छ ।

कार्यालयले चुनौतीको सामना गरिरहेको बेला भन्सार विभागले बर्सेनि राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य बढाउँदै लगेको छ । चालु आर्थिक वर्ष २०७६-०७७ को पुस मसान्तसम्म कार्यालयले रु २१ अर्ब ८८ करोड पाँच लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको तर उक्त अवधिमा लक्ष्यको तुलनामा सडक सम्भार दस्तुरसहित ८९ दशमलव ५५ प्रतिशत अर्थात रु १९ अर्ब ३९ करोड ५१ लाख ३३ हजार मात्र राजश्व सङ्कलन गर्न सकेको कार्यालयका सूचना अधिकारी जगदीशकुमार पुर्वेले राससलाई बताए ।

गत आवको पुस मसान्तभन्दा चालु आवको सो अवधिमा उक्त कार्यालयलाई ३३ प्रतिशत राजश्व उठाउने लक्ष्य थपिए पनि महँगा तथा विलासी गाडी आयातमा कमी आएको, बैंक तथा वित्तीय संस्थाले गाडी खरिदमा ५० प्रतिशत मात्र लगानी गर्ने गरेको तथा तेस्रो मुलुकबाट आउने गाडीको आयातमा कमी आएकाले वार्षिक लक्ष्य भेट्टाउन चुनौती थपिएको कार्यालय प्रमुख उमेश श्रेष्ठले बताए ।

पाम आयलको निकासीले १५ प्रतिशत राजश्व थपिन्थ्यो तर भारत सरकारले पाम आयल, इनर्जी ड्रिङ्क लगायतका सामानको निकासीमा रोक लगाएपछि वार्षिक लक्ष्य प्राप्त गर्न समस्या हुने सुचना अधिकारी पुर्वेको भनाइ छ । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवका लागि राजश्व उठाउने वार्षिक लक्ष्य रु ४१ अर्ब ८८ करोड पाँच लाख चार हजार दिएको छ । सो अन्तर्गत भन्सारतर्फ रु १९ अर्ब २२ करोड ९० लाख ४८ हजार, मुल्य अभिवृद्धि करतर्फ रु १९ अर्ब ४० करोड छ लाख २६ हजार तथा अन्तःशुल्कतर्फ रु तीन अर्ब २५ करोड आठ लाख २९ हजार राजश्व उठाउनु पर्नेछ ।

कार्यालयले गत आवमा रु ३६ अर्ब नौ करोड ३३ लाख दुई हजार राजश्व उठाउने लक्ष्य पाएकामा ८९ दशमलव ३६ प्रतिशत राजश्व असुल गरेको थियो । चालू आवको पहिलो छ महिनामा कार्यालयले लक्ष्यभन्दा करिब रु तीन अर्ब कम राजश्व उठाएकाले यही अवस्था रहेमा लक्ष्य भेट्टाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij