२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि साँझबाट नयाँ मौसमी प्रणाली भित्रिँदैछ , भारी हिमपात र वर्षा हुने अनुमान

भोलि साँझबाट नयाँ मौसमी प्रणाली भित्रिँदैछ , भारी हिमपात र वर्षा हुने अनुमान

970
Shares

काठमाडौं – भोलि बुधबार साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा गिरावट आइ देशैभरी चिसो बढ्ने र यो प्रणाली बिहीबार अझै सशक्त हुनेसमेत जनाएको छ । हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको जनाउँदै पूर्वानुमान महाशाखाले भनेको छ,‘‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ ।’’

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने र यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको जनाइएको छ ।

बुधबारबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन सबैलाई पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij