२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब नयाँ डिजाइनको लाइसेन्स वितरण गर्ने

अब नयाँ डिजाइनको लाइसेन्स वितरण गर्ने

870
Shares

काठमाडौं – यातायात व्यवस्था विभागले साबिक भन्दा फरक प्रकारको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्ने भएको छ। भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग गत वैशाख १६ गते एउटा मास प्रिन्टर र १० लाख लाइसेन्स ल्याउने सम्झौता भएको थियो। मद्रासले त्यही सम्झौता अनुसारको कार्ड विभागलाई उपलब्ध गराएको छ। यस नयाँ कार्डमा पहिले भन्दा केही विशेषता परिमार्जन गरिएको छ।

कार्डको ग्राफिक्स केही फरक छ। त्यस्तै पहिलेको लाइसेन्समा लेजर फोटो हुन्थ्यो अब भने यसलाई रङ्गिन बनाउन थर्मल युनिक्रोम प्रयोग गरिएको छ। थर्मल प्रिन्ट लेजर जत्तिको टिकाउ नहुने र फोटो कोतरिन सक्ने भएकोले कार्डलाई लेमिनेसन समेत गरिएको छ।

यसका अक्षर भने पहिलेझैं लेजर इन्ग्रेभिङ नै गरिएको छ। यो स्मार्ट कार्डमा ‘नेपाल सरकार’ र ‘सवारी चालक अनुमतिपत्र’ नेपाली र अंग्रेजीमा दुबै भाषमा लेखिएको छ।


पहिलेको कार्डमा सुरक्षाको लागि राखिएको सिएमआई एलएमआई प्रविधि (कोल्ट्याउँदा टल्किने कोड) हटाएर अब त्यसको सट्टा क्लियर विन्डो (तलपट्टि चारपाटे खाली ठाउँ) समावेस गरिएको छ। लाइसेन्सको पछाडि क्याटोगोरी भन्दा माथि बैङ्कको एटिएममा राखिने भिजिबल लाइन राखिएको छ।

यो नयाँ लाइसेन्स सबै मास प्रिन्टरले छाप्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। ‘टेस्टिङ पुरा भइसक्यो, हामीले करिव ३५ सय नयाँ लाइसेन्स छापिसकेका छौं’उनले भने।

गत महिना नै मास प्रिन्टरबाट लाइसेन्स छपाई सुरु हुने भनिए पनि भर्खरै मात्र यसको टेस्टिङ सकिएको छ। पुराना साना प्रिन्टरले लाइसेन्स छाप्न ढिलाई गर्दा सेवाग्राहीले १ वर्षसम्म लाइसेन्स पाउन सकेका छैनन्। प्रकृया पुरा गरेका करिव ८ लाख चालक रसिदकै भरमा सवारी साधन चलाउन बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij