दाङ प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सरकारले जनतालाई विकास र समृद्धि दिएको बताएका छन् । सोमबार प्रेस सङ्गठन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले सरकार राष्ट्रिय हितका पक्षमा दृढताका साथ अघि बढेको र सीमा विवाद समाधान गर्न गम्भीर रहेको बताए ।
सीमा विवाद चलिरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाबाट हल्का टिप्पणी आउनु गलत भएको भन्दै त्यस विषयमा गल्ती बोलेको स्वीकार्न सुझावसमेत दिए । लामो समयसम्म सरकारमा बसेको काँग्रेसले अहिले जनताको आशालाई निराशामा बदल्न खोजेको आरोप लगाए ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले दाङमा सडकलाई प्राथमिकता दिएको भन्दै दामोदर सडक, मदन भण्डारी राजमार्ग, राप्ती लोकमार्ग तथा तुलसीपुर–अमिलिया, लमही–घोराही, घोराही– तुलसीपुर सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको उल्लेख गरे ।
त्यसैगरी दङ्गीशरण गाउँपालिकाको हेकुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपाका प्रदेश इञ्चार्ज रहेका मुख्यमन्त्री पोखरेलले पश्चिम दाङमा जनताले पाँच वर्षका लागि नेकपालाई मतदान गरेको भन्दै अबको उपनिर्वाचनमा विगतको जनमतलाई कायम राख्न आग्रह गरे ।
उनले भने, “तपाइँहरुले नेकपालाई भरोसा गरेर पाँच वर्षका लागि जिताउनुभएको हो । अहिले पनि त्यसैलाई निरन्तरता दिनुहोस् यो नै अहिलेको उपनिर्वाचनको विशेषता हो ।”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij