बंगलादेश-प्याजको भाउ बढेको नेपालमामात्र भने होइन। हाम्रो नजिकैको मुलुक बंगलादेशमा अहिले प्याजको हाहाकार छ। अरू बेला प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्याज अहिले एक किलोका २६० टाका पुगेको छ। प्याजको अभाव र महंगी यति छ कि प्रधानमन्त्री शेख हसिनाले प्याज नै खान छोडिदिएकी छन्।
हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले हवाइजहाजबाट प्याज आयात भइरहेको बताए। ‘प्रधानमन्त्रीले पनि प्याज खान छोडिदिनुभयो। शनिबार प्रधानमन्त्री निवासमा पाकेका कुनै पनि खानामा प्याज राखिएको थिएन,’ उनले भने।
ठूलो मात्रामा प्याज खपत हुने बंगलादेशमा भारतले निर्यात प्रतिबन्ध लगाएपछि अभाव हुन थालेको हो। अहिले बंगलादेश सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज आयात गरेर माग धान्ने प्रयास गरिरहेको छ।
ट्रेडिङ कर्पोरेशन अफ बंगालदेशले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलेको छ। त्यहाँ ४५ टाकामा एक किलो प्याज पाइन्छ।
सुपथ मूल्यमा प्याज किन्न मान्छेहरू घन्टौंदेखि लाइन बसेका हुन्छन्।
‘अरू दुई घन्टा कुर्नु परे पनि म कुर्छु। यहाँको प्याज किने मैले एक किलोमा साढे २ सय जति टाका बचाउँछु। पैसा बचाउन म यहाँ उभिएको छु,’ लाइमा बसेका रतन नामका एक शिक्षकले समाचारपत्र गार्डियनलाई भनेका छन्,‘म ४१ वर्षको भएँ। अहिलेसम्म प्याजको भाउ १२० टाकाभन्दा बढी भएको मैले देखेको थिइनँ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij