काठमाडौं– कामना सेवा विकास बैंकले १३ औं वार्षिकोत्सव मनाएको छ । बैंकले काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय उद्घाटन गर्नुका साथै देशका विभिन्न ५२ ठाउँमा ५२ शाखा विस्तार गरेको छ ।
केन्द्रीय कार्यालयको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । साथै अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरेका थिए । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् ।
बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था गरेको थियो ।
त्यसैगरी, विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण, सरसफाई, कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालय र काठमाडौं स्थित प्रेम सागर फाउण्डेसनको “जनभोजन” कार्यक्रमको लागि आर्थिक सहयोग प्रदान गर्नुका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो ।
साथै, सोही अबसरमा न्यून आय भएका परिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था फूड फर लाईफ नेपाललाई बैंकका कर्मचारीहरुका तर्फबाट “प्रति दिन १ रुपैयाँ” योजना अन्र्तगत प्रदान गरिएको एकमुष्ट १ लाख १२ हजार ९० रुपैयांको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुँदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए ।
नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीले कामना सेवा विकास बैंकको सबै सूचकाङ्कहरु हेर्दा अब्बल विकास बैंक मध्येको एक विकास बैंक भएको बताए । उनले बैंकिङ्ग क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा कर्मचारी तथा सञ्चालकहरु अत्यन्तै चनाखो भएर काम गर्न सुझाव समेत दिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारेका थिए ।
बैंकको कार्तिक २६ गते बसेको बैंक सञ्चालक समितिले आ.व. २०७५र०७६ को नाफाबाट ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij