२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डा. रूप ज्योतिकोको पक्राउप्रति निजी क्षेत्रको चौतर्फी विरोध

डा. रूप ज्योतिकोको पक्राउप्रति निजी क्षेत्रको चौतर्फी विरोध

765
Shares

 

काठमाडौं – उद्योगपति तथा पूर्वअर्थराज्यमन्त्री डा. रूप ज्योतिको पक्राउप्रति निजी क्षेत्रले चौतर्फी विरोध गरेको छ । लेनदेनसम्बन्धी विवाद भए पनि प्रहरीले ठगी मुद्दामा ज्योतिलाई पक्राउ गरेपछि निजी क्षेत्रले सरकारको नियतमाथि प्रश्न उठाएको हो । लेनदेनसम्बन्धी विवादमा देवानी कानुनअनुसार मुद्दामामिला चल्छ, जसमा विवादमा संलग्नलाई पक्राउ गरिन्न । ‘मुलुकलाई सबैभन्दा धेरै कर तिर्नेमध्ये ज्योति समूह पर्छ, जसले अन्य व्यवसायीलाई पनि करछली गर्नुहुँदैन भन्ने सल्लाह दिने गरेको छ,’ एक वरिष्ठ उद्योगीले भने, ‘व्यवसाय तथा करसम्बन्धी विवादमा अहिलेसम्म नपरेको समूहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेर के सन्देश दिँदै छ ?’
निजी क्षेत्रका छाता संगठनहरूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पक्राउ तथा थुनछेक म्याद थपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चम्बर अफ कमर्स, नेपाल–चीन उद्योग वाणिज्य संघ, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललगायत संघसंस्थाले ज्योति र उनकी छोरीलाई अप्रत्याशित र अमर्यादित ढंगले पक्राउ गरी थुनछेकको म्याद थप गरिएको भन्दै त्यसबाट निजी क्षेत्र मर्माहत तथा हतोत्साहित भएको उल्लेख गरेका छन् ।

 

निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य भयो : महासंघ
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले हजारौँलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलो मात्रामा राजस्वसमेत बुझाउँदै आएको मुलुकका प्रतिष्ठित उद्योगपतिमाथि विनासोचविचार हतारहतार गरिएको पक्राउले निजी क्षेत्र हतोत्साहित भएको उल्लेख गरेको छ ।

निजी क्षेत्र मर्माहत भयो : नेपाल चेम्बर अफ कमर्स 
नेपाल चेम्बर अफ कमर्सले विदेशबाट घर फर्कँदै गर्दा एयरपोर्टबाटै ज्योति र उनकी छोरी कुनै अपराध प्रमाणित नभई उजुरीकै भरमा पक्राउ पर्नुले निजी क्षेत्र मर्माहत भएको उल्लेख गरेको छ । कानुन परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न चेम्बरले आग्रहसमेत गरेको छ ।

निजी क्षेत्रको मनोबल गिरेको छ : राष्ट्रिय व्यावसायिक पहल 
राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) का महासचिव सुरेन्द्रवीर मालाकारले विज्ञप्ति जारी गर्दै ज्योतिको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘जाहेरीमा उल्लिखित व्यहोराबमोजिम दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई सम्मानित अदालतमा धरौटी रकमसमेत राखिसकिएको बुझिँदा सो आधारमा निजहरूलाई थुनेरै अनुसन्धान गर्नुपर्ने गम्भीर प्रकृतिको ठगी मुद्दा हो भन्ने लाग्दैन ।’

अमर्यादित पक्राउ खेदजनक छ : नेपाल–चीन चेम्बर 
ज्योतिको पक्राउप्रति नेपाल–चीन उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । ‘नेपाल तथा चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै मुलुकमा लगानी विस्तार, औद्योगीकरण तथा व्यापार प्रवर्द्धनमा समेत ज्योतिको ठूलो योगदान रहेको छ,’ संघका महासचिव विवेक पौडलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

व्यावसायिक जगत् सशंकित भयो : नाडा 
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विवाद समाधानको वैकल्पिक उपाय हुँदाहुँदै पनि ज्योतिलाई पक्राउ गर्ने तथा म्याद थप गरी थुनामा राख्ने कार्यले निजी क्षेत्र हतोत्साहित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij