बागलुङ – समाजवादी पार्टीले बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावमा अशोककुमार विकलाई उम्मेदवार बनाएको छ । सपाले आज उम्मेदवार परिचय तथा पत्रकार सम्मेलनमार्फत विकको उम्मेदवारी घोषणा गरेको हो ।
ढोरपाटन नगरपालिका–१ निवासी विक सपाका गण्डकी प्रदेश सदस्य हुनुहुन्छ । सपामा प्रवेश गर्नुअघि उनी नेपाली काङ्ग्रेसमा आबद्ध थिए । गएको स्थानीय तह चुनावमा काँग्रेसकोतर्फबाट नगरपालिका–१ को वडाध्यक्षमा उम्मेदवार दिएका थिए ।
सबैखाले विभेदको अन्त्य र समतामूलक समाज निर्माणको उद्देश्य पूरा गर्न आफू उम्मेदवार बनेको विकको भनाइ थियो । गाउँमै बसेर जनताको दुःख, सुखमा सघाएकाले चुनाव जित्ने विकको जिकिर छ ।
“राजनीतिक, सामाजिक अभियानमा मेरो भूमिका छ, पछाडि पारिएका उत्पीडित वर्ग, समुदायको हितमा पनि मैले काम गरेको छु”, विकले भने, “म युवा पनि भएकाले जनताको साथ पाउनेमा ढुक्क छु ।”
उम्मेदवार घोषणा कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले अरु पार्टीले जस्तो अव्यवहारिक र महत्वकाङ्क्षी चुनावी आश्वासन जनतालाई नबाँडिने उल्लेख गरे ।
“हाम्रो विचार र चुनावी अभियानले उम्मेदवारसँगै पार्टीलाई जनतामा स्थापित गर्छ, वैकल्पिक शक्तिका रुपमा जनताले हामीलाई छनोट गर्छन्”, उनले भने ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij