२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन बिहीबार

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन बिहीबार

905
Shares

काठमाडौं– आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार हुने भएको छ ।
निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन काम यही कात्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो ।
कात्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
ती उम्मेदवारहरुको अन्तिम नामावली भने कातिक २४ गते प्रकाशन हुनेछ । सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ । आयोगका प्रवक्ता श्रेष्ठका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुने छ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र पनि तोकेको छ ।
४ लाख ५४ हजार ११४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन् । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसीर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij