मोरङ- अटोमेटिक पेस्तोलसहित मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का २३ वर्षीय विक्कीकुमार भगत र धनपालथान गाउँपालिका-७ कदमहाका २८ वर्षीय मुकेशकुमार मण्डल छन्।
दुवैलाई अलग-अलग ठाउँबाट प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। सोमबार पत्रकार सम्मेलन गरी दुवैलाई प्रहरीले सार्वजनिक गरेको छ।
अधिकारीका अनुसार भगत कात्तिक १६ गते सिंघिया खोलाबाट पक्राउ परेका थिए। छठ पूजाको क्रममा प्रहरीले तलासी लिँदा उनको साथबाट हतियार, दुई थान म्यागजिन र गोली फेला परेको थियो। उक्त गोली मण्डलको रहेको बयानका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको थियो।
उनलाई जलजला चोकबाट पक्राउ गरिएको थियो। दुवैलाई फौजदारी अपराध ऐन २०७४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउमा परेका विक्की कुमार विगत दुई वर्षदेखि विराटनगरमै रहेको एक कपडा पसलमा रोजगारी गर्थे। मुकेशकुमार उदयपुर जिल्लाको रामपुर ठोक्सिलास्थित एक लघुवित्तीय संस्थामा फिल्ड सहायकको रूपमा कार्यरत थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij