काठमाडौं- प्रहरीले तिहार अवधिभर देशभरका ४३ स्थानमा गरिएको कारवाहीबाट ४६५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भिआइपी जुवाडेदेखि सामान्य जुवाडेसम्म छन । उनीहरुको साथबाट देशभर गरी प्रहरीले ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको हो । प्रहरीले सबै भन्दा बढी रकम राजधानीको महाराजगञ्जमा गरिएको कारवाही बाट फेला पारेको थियो ।
सो क्रममा २५ जना भिआइपी जुवाडेबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भएको थियो । तिहार अवधिभर प्रहरी कारवाहीमा पक्राउ पर्नेमा तीन जना महिला जुवाडे समेत छन ।
विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अपरेसन अन्तर्गत देशभरबाट गरी ३ करोड ३० लाख रुपैया सहित ४६५ जना जुवाडे पक्राउ परेको नेपाल प्रहरीका डिआइजी एवम् केन्द्रिय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
उनले पक्राउ परेका व्यक्तिहरुबाट बरामद रकमको स्रोत तर्फ समेत प्रहरीको ध्यान केन्द्रित भएको र आवश्यक परे सम्पति शुद्धिकरणमार्फत पनि अनुसन्धान हुने जनाए । राजधानी दैनिकबाट
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij