काठमाडौं -जालसाजी तथा ठगी गरेको आरोप लागेका सहयोगी विकास बैंक जनकपुरका संचालक समिति सदस्य दिपेन्द्र कुमार यादवलाई पक्राउ गरेको छ।
जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको धितो राखिएको जग्गा जालसाजी तथा ठगी गरी विक्री गरेको अभियोगमा जिल्ला अदालत धनुषाले यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो। फरार रहेका यादवलाई प्रहरीले आज बलबा टोलस्थित घरबाटै पक्राउ गरेको हो।
पीडित रौनियारले लामो समयसम्म पनि आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले जालसाजी तथा ठगी गरेको अभियोगमा अभियूक्त दिपेन्द्र कुमार यादवको नाममा गत साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी फरार रहँदै आएका थिए।
पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत धनुषामा उपस्थित गराई म्याद थप गराउने तयारी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
रौनियारले करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासस्थित ५ कठ्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए।
केही वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता पाएनन्। जग्गा फिर्ता गर्न पटक पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि पिडीतले फिर्ता गराई दिन माग गर्दै करीब ६ वर्षअघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij