टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बन्नुभएको छ भने पराजित थापाले ४३८ मत प्राप्त गरेका थिए । सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गर्नुभएको थियो । थापा समूहकी सरिता लामा महासचिवमा विजयी भएकी छिन् । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उनले १३ मतले पराजित गरेका छन् ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology