काठमाडौं । सरकारले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । कुनै पनि औपचारिक कार्यक्रम सञ्चालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि (प्रथम संशोधन समेत २०६९) मा व्यवस्था गरिएको गृहले जनाएको छ ।
जसअनुसार नेपालको राष्ट्रिय झण्डा शीर्षकमा नेपालको संविधान २०७२ को धारा ८मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुईं र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भएको जनाइएको छ ।
राष्ट्रिय झण्डाको आकार प्रयोग शीर्षक अन्तर्गत संवैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८ बाइ ६ फिट हुनुपर्ने जनाइएको छ । त्यसैगरी नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघसंस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६ बाइ ४ फिट हुने जनाइएको छ ।
संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४ बाइ ३ फिट हुनुपर्ने जनाइएको छ ।
संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३० बाइ २० सेन्टिमिटर हुनुपर्ने, नेपाली नागरिकले राष्ट्रिय उत्सव तथा महोत्सवहरुमा ३० बाइ २० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिँड्न सक्नेछन् भनिएको छ ।
राष्ट्रिय पर्व, राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिएबमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३ बाइ २.५ फिट हुनुपर्ने र नेपाली नागरिकले ४ बाइ ३ फिट र ३ बाइ २.५ फिट दुवै आकारका राष्ट्रिय झण्डा प्रयोग गर्न सक्ने समेत गृहले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij