२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सहयोगी विकाश बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्ने

सहयोगी विकाश बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्ने

1.4K
Shares

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
असार २२ गते यस बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् ।
२०७६ असार २१ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ ।
हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकाश बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ । प्रारम्भिक सहमति अनुसार, सहयोगी विकाश बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउनेछ । तथापि वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।
धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरू बाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij