२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घातक रोगविरुद्ध सानिमा लाइफको बिमा योजना

घातक रोगविरुद्ध सानिमा लाइफको बिमा योजना

1.1K
Shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगहरूविरुद्धको स्वास्थ्य सुरक्षा बिमा योजना सार्वजनिक गरेको छ । आधुनिक जीवनशैलीसँगै बढ्दै गएको घातक रोगसम्बन्धी समस्यालाई मध्यनजर गरी कम्पनीले यस्तो खालको योजना सार्वजनिक गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको यस योजनाअनुसार ११ वटा घातक रोगबाट हुने आर्थिक जोखिमको रक्षावरण गर्नेछ । बिमित निश्चित अतिरिक्त शुल्क भुक्तानी गरी यस्तो सुविधा लिन सक्नेछन् ।
कम्पनीले सञ्चालनमा ल्याएको योजनाअनुसार बिमित घातक रोगबाट पीडित भएको प्रमाणित भएमा सर्तको परिधिभित्र रही मूल बिमांकको आधारमा ५० लाख रुपैयाँसम्म बिमा सुविधा एकमुष्ट प्रदान गरिनेछ । कम्पनीले कडा प्रकृतिको क्यान्सर, निरन्तर डायलसिसको आवश्यकता पर्ने गरी भएको मिर्गौला विफलता, निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, मुख्य अंग-बोन म्यारो प्रत्यारोपण, ओपन हार्ट सर्जरी वा मुटुका भल्भको मर्मत, प्राइमरी पलमोनरी आटिरिअल हाइपरटेन्सन, कडा प्रकृतिको प्रथम हृदयाघात, स्थायी प्रकृतिको मस्तिष्क घात, विशेष कडा प्रकृतिको कोमा, एओर्टा ग्राफ्ट शल्यक्रिया र कोरोनरी धमनी बाइपास ग्राफ्ट रोगविरुद्धको रक्षावरण गर्नेछ ।
बिमितले न्यूनतम ५० हजारदेखि ५० लाख रुपैयाँसम्मको घातक रोग बिमा सुविधा लिन सक्नेछन् । यसको बिमितको उमेर कम्तीमा १८ वर्ष पुगेको हुनुपर्नेछ भने अधिकतम ५५ वर्षको हुनुपर्नेछ । बिमा अवधि ५ वर्षदेखि २५ वर्षसम्मको हुनेछ । अधिकतम बिमा शुल्क भुक्तानी उमेर ६५ वर्षसम्म हुनेछ । यस योजनाको ९० दिन प्रतीक्षा अवधि हुनेछ । बिमा प्रारम्भ भएको वा बिमा पुनर्जागरण भएको ९० दिनपछि मात्रै जोखिम रक्षावरण सुरु हुनेछ । अस्तित्व अवधि ३० दिन कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij