वीरगन्ज – भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।
परीक्षणको क्रममा नेपाल आयल निगम र इण्डियन आयाल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीले भारतको मोतिहारीबाट सो पाइपलाइनमा पानी पठाएर गरेको परीक्षण सफल भएपछि अब निकट भविष्यमै उक्त पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ।
नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भई पाइपमार्फत पठाएको पानीको प्रेसर बाराको अमलेखगञ्जसम्म सफलरुपमा आइपुगेकाले परीक्षण सफल भएको प्राविधिकले जनाएका छन्।
दक्षिण एसियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चलनमा आएपछि पहिलो खेपमा भारत विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजेल ल्याउने पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij