२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

असार मसान्तसम्ममा पहिलो किस्ता लिनु पर्ने नत्र भूकम्प पीडितको नाम लाभग्राही सूचीबाटै हट्ने

असार मसान्तसम्ममा पहिलो किस्ता लिनु पर्ने नत्र भूकम्प पीडितको नाम लाभग्राही सूचीबाटै हट्ने

1.8K
Shares

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ।
प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने बताएको छ। निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणले जनाएको छ ।
सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ लेमात्र अनुदान सम्झौता गरेका छन्। भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरूमा सम्पर्क राख्नुपर्नेछ।
त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ। अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन्।
असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ। निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन्। प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरूले दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij