चितवन- क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने योजनाकार भन्दै प्रहरीले स्थानीयवासी प्रकाश कँडेललाई पक्राउ गरेको हो ।
कँडेललाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कँडेलको नेतृत्वमा आएको टोलीले बुधबार भरतपुर महानगरपालिका–१५ मा निर्माण हुँदै गरेको रङ्गशालाको अस्थायी बार भत्काएका थियो । सोही आरोपमा प्रहरीले बुधबार १६ जना र डोजरसमेत नियन्त्रणमा लिएको थियो ।
हाल सो ठाउँमा सात मिटर फराकिलो बाटो छ । बाटो विस्तारका लागि थप जग्गा क्रिकेट रङ्गशालाका तर्फबाट छोड्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीका अनुसार बाटो विस्तारका विषयमा विवाद गर्दै आएका उनीहरुले डोजर लगाएर बार भत्काएका हुन् ।
निर्माणको काम भइरहेको समयमा स्थानीयवासीले अस्थायी बार भत्काएपछि निर्माणको वातावरण नबनेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको कामलाई रोकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij