एजेन्सी – भारतको उत्तर प्रदेशस्थित मेरठमा बस्ने शुभम कुमारले कहिले पनि सोचेका थिएनन् कि फोन बेच्ने बेला गरेको एउटा गल्ती उनको लागि कति भारी हुनेछ । फोनमा भएका केही आपत्तिजनक तस्बिर सार्वजनिक भएपछि एक व्यक्तिको हत्या भएको छ भने अर्की एक महिलाले आत्महत्या गरेकी छिन् । शुभमलाई पनि प्रहरीले पक्राउ गरेको छ । यो पूरा घटनाक्रमका बीच एक बालकले आफ्नी आमा गुमाएका छन् ।
मुजफ्फरनगरको गंगानहर कैनालमा शनिबार ३५ वर्षकी एक महिला आफ्ना पाँच वर्षका छोरासँगै नदीमा हाम फालिन् । गोताखोरले बच्चालाई त बचाए तर महिलाको मृत्यु भइसकेको छ । पूर्व प्रेमीसँगको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि महिलाले आत्महत्या गरेको पुलिसको अनुसन्धानमा पत्ता लागेको छ ।
वास्तवमा, महिलाका पूर्वप्रेमी शुभम कुमारले आफ्नो फोनमा भएका पुराना फोटो डिलिट नगरीकनै मेरठको अनुज प्रजापतिलाई बेचेका थिए । प्रजापतिले नै ती फोटो सोसल मिडियामा सेयर गरेका थिए । पुलिस अधिकारी हरिशरण शर्माले भने, ‘एक महिला आफ्ना ५ वर्षका छोरासँग अलकनन्दा पुलबाट गंगानहरमा हाम फालेको सूचना हामीले पायौं । उनले आत्महत्या गर्नुअघि श्रीमानलाई पनि फोन गरेकी थिइन् । यसैमार्फत् उनको पहिचान खुलेको थियो ।’
फोटो सार्वजनिक भएको थाहा पाएपछि मे २३ तारिखमा शुभमले साथीसँग मिलेर प्रजापतिको हत्या गरेका थिए । पुलिस अधिकारी आनन्द प्रकाशका अनुसार आफ्नो फोटो देखेर महिलाले शुभमसँग कुरा गरेकी थिइन् । रिसाएका शुभमले प्रजापतिको हत्या गरिदिए । सिसिटिभी फुटेज र घटनास्थलमा पाइएको मोबाइलको मद्दतले आरोपीको पहिचान भयो । पुलिसका अनुसार फोटो भाइरल हुनुका साथै प्रजापतिको हत्याको मामलामा आफू पनि मुछिएपछि महिलाले आत्महत्याको बाटो रोजेको हुनसक्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij