काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डोर्याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुगेका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गरे।
‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले। सुजनलाई बधाई भन्दै ‘स्कुलले के–के दियो त बाबु तिमीलाई ?’ मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, ‘किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के।’
मन्त्री बाँस्कोटाले करिब २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेरे र भने, ‘राम्रो छ, अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु नि !, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए ।
मन्त्री बाँस्कोटाले सुजनलाई किताब–कापी झोलामा राख्न आग्रह गर्दै आफू भ्याएसम्म महिना दिनमा भेट्न आउने आश्वासन दिए। उनले भने, ‘यदि भ्याइनँ भने दुई महिनामा एकचोटी पक्का।’ मन्त्री बाँस्कोटाले कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका सिमान्तकृत दनुवार समुदायका सुजन हाल स्थानीय आजाद माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दैछन्।
उनले सुजनको अभिभावकत्व ग्रहण गरेपछि काभ्रेपलाञ्चोकमा २०७५ सालको भर्ना अभियान सुरू गरिएको थियो। मन्त्री बाँस्कोटाले यस वर्ष पनि जिल्लाका थप दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। उनले भर्ना अभियानअन्तर्गत गत वैशाखमा पाँचखाल नपा–१ का आमाबाबु नभएका प्रितम तामाङलाई स्थानीय ज्ञानेश्वरी मावि र पाँचखाल नपा–५ का बाबु नभएका निष्मा सुनारलाई स्थानीय जनउद्धार प्राविमा कक्षा १ मा भर्ना गरी अभिभाकत्व ग्रहण गरेका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij