काठमाडौं- ऋण सापटी दिई ब्ल्यांक चेकमा हस्ताक्षर गराएर आफूखुसी रकम भरेर बाउन्स गराउने एक महिलालाई अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ। शुक्रबार सिन्धुपाल्चोक पाङ्ग्रेटर १ घर भई हाल काठमाडौं १५ किमडोल बस्दै आएकी ३६ बर्षिय अप्सरा श्रेष्ठ कार्कीलाई पक्राउ गरेको हो।
श्रेष्ठले घरब्यवहार चलाउन भन्दै माग्न आउने विभिन्न व्यक्तिलाई बढिमा २० २५ हजार ऋण सापटी दिने गर्थिन्। त्यसबापत ऋणीलाई ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाउँथिन्। हस्ताक्षर गराइसकेपछि उनले ती चेकहरूमा आफूखुसी रकम भर्थिन् र चेक बाउन्स गराउँदै दुःख दिने गर्थिन। श्रेष्ठले ऋण फिर्ता गर्नेलाईसमेत रकम फिर्ता नगरेको भन्दै चेक बाउन्स गराएर दुःख दिने गर्थिन्।
उनीविरुद्ध ६ जनाले महाशाखामा उजुरी दिएका थिए। सोही उजुरीमाथि छानविन गर्ने क्रममा उनको यस्तो ठगी ठन्दाको खुलासा भयो।
प्रहरीले फेन्सी व्यवसाय गर्दै आएकी उनीबाट विभिन्न बैंकका ब्ल्यांक चेक ३२ थान, आफूखुसी रकम उल्लेख गरेका चेक ३५ थान र बाउन्स गरिएका चेक ७ थानका साथमा हिसावकिताव राखेको कापी ३४ थान, डायरी र रजिष्टार बरामद भएको थापाले बताए। बरामद गरिएका ३४ थान चेकमा श्रेष्ठले एक करोड ३४ लाख ६२ हजार बराबरको रकम भरेको पाइएको छ। यस्तै बाउन्स गरिएका चेकमा ५६ लाख बराबरको रकम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उजुरी दिने ६ जनाबाहेक थप व्यक्तिलाई पनि उनले ठगे नठगेको बारेमा अनुसन्धान भइरहेको बताएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij