काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपुर्ण कर्जा अन्तरगत स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने भएको छ । उक्त क्षेत्रमा लगानी गर्नको लागि राष्ट्रिय वाणिज् बैंक,दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजना बीच महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
खानेपानी मन्त्री बिना मगरको समुपस्थितीमा सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजाल र टाटा परियोजनाका एच.इ.कुट्टीले हस्ताक्षर गरेका हुन् ।
परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ नेपाल कटेज एण्ड स्मल इन्डस्ट्रीजस् सहयोगी पार्टनर संस्थाको रुपमा रहेका छन् ।
सम्झौता पछि टाटा परियोजनाले उपलब्ध गराएको १५ लाख सम्म पर्ने खानेपानी प्रशोधन गर्ने मेसिनमा राष्ट्रिय वाणिज्य बैंकले सहुलियत दरको महिला उद्यमशिलता कर्जा अन्तर्गत १ दशमलव ६ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा लगानी गर्ने छ । हाल पाइलट परियोजनाको रुपमा काभ्रे जिल्लाको नाला र पनौती क्षेत्रमा परियोजना लागु गरिने जनाएको छ ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने गरी महिला उद्यमशिलताको क्षेत्रमा कार्य गर्न पाउदा खुशी व्यक्त गरे । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय १८ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने समेत बताए ।
समारोहमा खानेपानी मन्त्री बिना मगरले नेपाली महिलाले खानेपानी ब्यवस्थाको लागि जिवनमा धेरै समय ब्यतित गरिरहेको सन्दर्भमा यस्तो सम्झौताले महिलाहरुमा सजिलै खानेपानीको ब्यवथा गर्न सघाउ पुगी महिला उद्यमशिलताको विकास भई महिला सशक्तिकरणमा सघाउ पुग्ने बताइन् ।
दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलाद्धारा स्वच्छ र शुद्ध खानेपानी उत्पादन गर्ने कार्यमा समन्वयनकारी भुमिका प्रतिबद्धरुपमा निर्वाह गरिने बताइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij