२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालुवाटारको सरकारी जग्गा बिष्णु पौडेलले हडपेका छैनन् – प्रधानमन्त्री

बालुवाटारको सरकारी जग्गा बिष्णु पौडेलले हडपेका छैनन् – प्रधानमन्त्री

2.5K
Shares

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् ।
आज बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी पनि गरेका छन् ।
पार्टी र सरकारलाई बदनाम गर्न विरोधीले वालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरेको ओलीको दाबी छ ।
‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको छ, त्यो जग्गा राजाको शाससनकालमा पौडेलले किन्नु भएको हो’ बैठकमा ओलीले भने, ‘कोही व्यक्तिबाट अरुले सरह उहाँले जग्गा किन्नु भएको हो । कुनै सरकारी जग्गा हडपेको पनि होइन ।’
ओलीले जग्गा किन्दाको समयमा पौडेल कुनै लाभको पदमा नरहेको पनि स्पष्ट पारे । ‘उहाँले किन्नु भन्दा पहिला कसरी अरु व्यक्तिले किने भन्ने कुरा पहिलाको सरकारले जान्ने कुरा हो, उनले भने, ‘उहाँ त्यतिबेला पार्टीको कुनै पदमा पनि हुनुहुन्थेन । त्यसकारण सत्ता र पदको दुरुपयोग गरेर जग्गा किनेको पनि होइन ।’
प्रधानमन्त्री ओलीले भने ‘सरकार असल नियतका साथ काम गरेको छ । वालुवाटार मात्र होइन, अब देशैभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याइन्छ । यसो गर्दा कसैलाई फाइदा र नोक्सान के हुन्छ भनेर हेरिँदैन । ’
साथै वाइवडी प्रकरणमा अनियमितता भएको पाइए जोसुकै भएपनि कारवाही गरिने प्रधानमन्त्री ओलीले बताए ।
‘भ्रष्टाचार आफू पनि गर्दिन र गर्नेलाई पनि छोडिदैन । गरेकालाई कारवाही भैरहेको छ’ ओलीले भने, ‘वाइडवडीको सत्यतथ्य आएपछि अनियमितता भएको रहेछ भने छानविन गरेर जो सुकै भएपनि कारवाही गरिन्छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘कृषिमा उत्पादन बढेको छ । यो वर्ष आलु उत्पादन ९ प्रतिशतले बढेको छ । धान, मकै र गहुँ उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ ।’
प्रधानमन्त्री र सांसदहरुबीच दोहोरो छलफल गर्ने उद्देश्यका साथ आगामी वैशाख २१ अर्को बैठक बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij