काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थलका लागि सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन्।
काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिए।
उनले भने – “एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार ब्याक भएको छैन।”
“डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ,” मन्त्री बाँस्कोटाले भने – “अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ।”
आन्तरिक विमानस्थलका लागि एकवर्ष अघि बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमीन निरीक्षण गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij