२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सले थप्यो दिल्ली उडान

नेपाल एयरलाइन्सले थप्यो दिल्ली उडान

1.2K
Shares

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ ।

भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौं नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ ।

यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौं–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।

यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।

‘व्यवसायिकतासँगै यात्रुको सहजताका लागि दुबै ‘वाइड बडी’ जहाजबाटै दिल्ली उडान गर्दैछौ, ‘वाइड बडी’ उड्दा २७४ यात्रु र समान आउने जाने हुन्छ, जुन ‘न्यारो बडी’ (१५८ सिट क्षमता) को दोबर यात्रु एउटै ‘वाइड बडी’ले बोक्ने भएकाले सबै उडान ‘वाइड बडी’ मार्फत नै गर्न लागेका हौँ,’ सहायक प्रवक्ता कोइरालाले भने ।

निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । केही महिनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij