२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीलङ्कामा कर्फ्यूः आत्मघाती हमलामा २०७ को मृत्यु

श्रीलङ्कामा कर्फ्यूः आत्मघाती हमलामा २०७ को मृत्यु

1.3K
Shares

श्रीलङ्कामा आइतबार भएको श्रृङ्खलाबद्ध बम बिस्फोटपछि सरकारले देशभरी कर्फ्यू लगाएको छ । श्रीलङ्काली सरकारले उक्त आत्मघाती हमलाको षड्यन्त्र विदेशमा रचिएको बताएको छ ।

अहिलेसम्म आठ बम बिस्फोट भएको छ जसमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ भने ४५० घाइते छन् । मृतकमा २७ विदेशी नागरिक पनि समावेश छन् ।

– अहिलेसम्म आठ बिस्फोट । विलासी होटल र चर्च निशानामा

– २०७ को मृत्यु, ४५० घाइते

– ८ संदिग्ध पक्राउ

– कोलम्बो, नेगोम्बो र बट्टिकलोआमा तीन चर्चमा ईस्टकमो प्रार्थनाको क्रममा बिस्फोट

– कोलोम्बोमा चार होटल र एक चिडियाखाना नजिकै बिस्फोट

– कुनै पनि गुटले हमलाको जिम्मेवारी लिएको छैन

– सरकारले भन्यो, ‘यो आत्मघाती हमला विदेशमा रचिएको षड्यन्त्र हो’

– देशभरी कर्फ्यू लगाइएको छ

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेका अनुसार यस मामलामा संलग्न भएको आशंकामा अहिलेसम्म आठजनालाई पक्राउ गरिएको छ ।

पक्राउ सबै श्रीलङ्काका नागरिक हुन् । उनीहरुको कुनै अन्तरराष्ट्रिय संगठनसँग सम्पर्कको पनि अनुसन्धान गरिँदै छ । अहिलेसम्म कुनै पनि संगठनले बिस्फोटको जिम्मेवारी लिएको छैन ।

प्रधानमन्त्रीले सम्भावित हमलाबारे पुलिसलाई पहिले नै जानकारी भएको प्रतित हुने बताउँदै क्याबिनेटलाई यसबारे कुनै जानकारी नभएको बताएका छन् ।

हमलापछि श्रीलङ्कामा कर्फ्यू लगाइएको छ र सोसल मिडियालाई पनि प्रतिबन्ध लगाइएको छ ।

श्रीलङ्काका रक्षामन्त्री आर विजयवर्धनले भने, ‘यो आत्मघाती हमला हो । गुप्तचर एजेन्सीले हमलाबारे सूचित गरेका थिए तर उनीहरुलाई घटना अघि रोक्न सकिएन । हमलाको षड्यन्त्र विदेशमा रचिएको हो ।’

को हुन् हमलाकर्ता ?

हमला कसले गर्यो यसबारे स्पष्ट जानकारी छैन । समातिएका मानिसहरुबारे पनि केही सार्वजनिक गरिएको छैन ।

श्रीलङ्काका दूरसंचार मन्त्री हरिन फर्नान्डोले पनि बीबीसीसँगको कुराकानीमा आइतबारको हमलाबारे गोप्य जानकारी भएको स्विकारेका छन् ।

उनले भने, ‘यो गोप्य रिपोर्टबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थिएन । यो रिपोर्टलाई किन गम्भीरतापूर्वक लिइएन, यो प्रश्न पनि क्याबिनेटमा उठ्छ ।’

उनले भने, ‘गोप्य रिपोर्टमा हमला चार तरिकाले हुन सक्छ भनेर जानकारी दिइएको थियो । आत्मघाती बम बिस्फोट हुनसक्ने, हतियारमार्फत हमला हुनसक्ने, चक्कूमार्फत हमला हुनसक्ने वा बिस्फोटले भरिएका ट्रकमार्फत हमला हुनसक्ने बताइएको थियो । यो रिपोर्टमा केही संदिग्धको नाम पनि दिइएको थियो । उनीहरुको टेलिफोन नम्बर पनि दिइएको थियो । यो अचम्म छ कि गुप्तचर विभागसँग यो रिपोर्ट थियो तर यसबारे क्याबिनेट वा प्रधानमन्त्रीलाई जानकारी थिएन ।’

फर्नान्डोले भने, ‘यो रिपोर्ट एउटा दस्तावेज हो र यो दस्तावेज हामीसँग छ । यो रिपोर्टमा केही नाम पनि लेखिएका छन् । यसमा केही संगठनको नाम पनि छ । मैले जे सुनिरहेको छु त्यसबाट थाहा भइरहेको छ कि अनुसन्धान राम्रै चलिरहेको छ र हामी हमलाकर्तासम्म पुग्न सक्छौं । हमलाको पछाडि को छन् र कुन समूह हो त्यसको पहिचान भइसकेको छ । भोलि बेलुकासम्म हामीसँग पूरा जानकारी हुनेछ ।’

आठौं बिस्फोटमा तीन पुलिस अधिकारी पनि मारिएका छन् । पुलिस अधिकारीले कोलोम्बोको एउटा घरमा अनुसन्धान गरिरहेका बेला उक्त बिस्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij