२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतबाट २८ बालकको उद्धार

भारतबाट २८ बालकको उद्धार

810
Shares

गौशाला – महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ । चार वटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रमबाट शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका थिए । सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले जानकारी दिए ।

चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो । १५ देखि १७ वर्ष उमेरका ती बालकमध्ये दलित समुदायका २३, चार जना यादव र एक जना मुस्लिम समुदायको रहेका छन् । बाल कल्याण समितिले ती बालकलाई जनकपुर लगेको छ ।

चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिश लिएर आएमा अभिभावकलाई जिम्मा लगाइने प्रजिअ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij