काठमाडौं -भारतीय वायुसेवाप्रदायक जेट एयरवेजले काठमाडौं उडान स्थगन गरेको छ।
शुक्रबारदेखि एयरवेजले अन्तर्राष्ट्रिय उडान स्थगन गरेसँगै काठमाडौं उडान पनि स्थगित गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।
भारतकै ठूलोमध्येको एयरलाइन्स कम्पनी जेट एयरवेज पछिल्लो समय चरम आर्थिक संकटमा फस्दै गएको थियो। बिबिसीका अनुहार उसले शुक्रबारदेखि सबैजसो अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ।
जेटले पछिल्लो समय दिल्ली(काठमाडौं दैनिक एक उडान गर्दै आएको थियो।
विमानस्थल कार्यालयका अनुसार जेटले आगामी मे ५ सम्मलाई उडान स्थगन गर्ने पत्र पठाएको छ।
इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति समेत बजेट नभएपछि जेट एयरवेजका जहाज ग्राउन्डेड भएका छन्।
एक सय बढी जहाजबाट दैनिक ६ सय आन्तरिक र ३ सय ८० अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सले अहिले १४ वटा जहाज मात्र उडाइरहेको थियो। भारतीय सिभिल एभिएसन नियमअनुसार अन्तर्राष्ट्रिय उडानका लागि दैनिक कम्तीमा २० जहाज उड्नुपर्छ। जेट एयरवेजसँग अहिले १४ वटा मात्र जहाज छन्।
बिबिसीका अनुसार जेट एयरवेज एक अर्ब डलर ऋणमा छ। कम्पनी आर्थिक व्यवस्थापन गर्न लागि परेको छ।
बिहीबार जेटका १० वटा जहाज ग्राउन्डेड भएका थिए।
जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका हुन्। जेटमा अहिले उनको परिवारको ५२ प्रतिशत सेयर हिस्सा छ। जेटमा कुल २३ हजार कर्मचारी रहेको बिबिसीमा उल्लेख छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij