संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीबीच सम्बन्धविच्छेद भएसँगै संसारका धनाढ्य महिलाहरूको क्रमांक तलमाथि परेको छ।
सम्बन्धविच्छेद पछि म्याकेन्जीले बेजोसको सम्पत्तिबाट करिब ४० खर्ब रूपैयाँ पाउने भएकी छन्। यसले अमेजन कम्पनीमा उनको सेयर हिस्सा ४ प्रतिशत भएको छ। उपन्यासकार समेत रहेकी म्याकेन्जी अमेजनकी सुरूवाती कर्मचारी हुन्। पच्चीस वर्ष लामो सम्बन्ध अन्त्यसँगै म्याकेन्जीको आर्थिक उडानले फट्को मारेको छ।
योसँगै म्याकेन्जी संसारकै तेस्रो धनी महिला बनेकी छन्। यसअघि उनी धनाढ्य महिलाको सूचीमा २४ औं स्थानमा थिइन्।
यो सूचीमा अरू को-को महिला छन्? उनीहरू कसरी यहाँसम्म आइपुगे?
संसारकै धनी महिला हुन् फ्रान्सियोस बेटनेकोट मेयेर्स। उनको कुल सम्पत्ति ४९.३ अर्ब अमेरिकी डलर छ। अर्थात् करिब ५५ खर्ब रूपैयाँ। उनी संसारका १५ औं धनाढ्य व्यक्ति हुन्।
मेयेर्स फ्रान्सेली हुन्। उनको पारिवारिक कम्पनी लोरेल कस्मेटिक्समा उनको ३३ प्रतिशत हिस्सा छ। ६५ वर्षे मेयेर्सले यो सम्पत्ति उनकी आमा लिलियान बेटेनकोर्टबाट पाएकी हुन् जसको दुई वर्षअघि मृत्यु भएको थियो। मेयेर्स लेखिका पनि हुन्।

विश्वकै धनी दोस्रो महिला हुन् एलिस वाल्टन। उनको सम्पत्ति ४४.४ बिलियन अमेरिकी डलर छ। उनी संसारकी १७ औं धनाढ्य व्यक्ति हुन्। ६९ वर्षीय एलिस अमेरिकी सुपरमार्केट वाल मार्टका संस्थापक साम वाल्टनकी छोरी हुन्।
एलिसले आफ्नो पारिवारिक व्यवसायबाट टाढै रहेर कला क्षेत्रमा लागेकी छन्। उनी ‘क्रिस्टल ब्रिजेज म्युजियम अफ अमेरिकन आर्ट’ की अध्यक्ष हुन्।

तेस्रो स्थानमा म्याकेन्जी बेजोस पुगेकी छन्। उनले अमेजनबाट ३५.६ अर्ब अमेरिकी डलर पाएकी छन्। अमेजनमा बाहेक पनि म्याकेन्जीको सम्पत्ति भएको अनुमान गरिएको छ।
४८ वर्षीया म्याकेन्जी र बेजोसका चार सन्तान छन्। म्याकेन्जीले दुई वटा उपन्यास लेखेकी छन् जसले राम्रै प्रतिक्रिया पाएका छन्। उनी लेखिका टोनी मोरिसनकी विद्यार्थी हुन्।

ज्याकलिन मार्स संसारकै चौथो धनाढ्य महिला हुन्। उनको कुल सम्पत्ति २३.९ अर्ब डलर छ। उनी ३३ औं धनाढ्य व्यक्ति हुन्। ७९ वर्षीया ज्याकलिन खाद्य कम्पनी मार्सकी मालिक हुन्। यो कम्पनी उनका हजुरबुबा फ्रयांकले सन् १९११ मा खोलेका थिए। ज्याकलिनले यो कम्पनीमा करिब २० वर्ष काम गरिन् र सन् २०१६ सम्म बोर्डमै बसिन्।
अचेल उनी समाजसेवामा व्यस्त छन्।

चीनकै सबभन्दा धनी महिला यान हुइयान संसारकी पाँचौं धनाढ्य महिला हुन्। उनको सम्पत्ति २२.१ अर्ब डलर छ। ३७ वर्षीया यान चिनियाँ कम्पनी कन्ट्री गार्डेन होल्डिंसकी प्रमुख सेयरधनी हुन्। चीनकै अग्रणी कम्पनीको ५७ प्रतिशत सेयर यानले बुबाबाट पाएकी थिइन्।

केमिकल कम्पनी एट्लान्टा एजी कम्पनीको ५० प्रतिशत सेयरधनी सुसेन क्लाटेन संसारकी छैठौं धनी महिला हुन्। ५६ वर्षीया सुसेनले यो सेयर आफ्ना आमाबुबाबाट पाएकी थिइन्। जर्मनीको सुसेन र उनका भाइको गरी ५० प्रतिशत सेयर कार निर्माता कम्पनी बिएमडब्लुमा पनि छ।
उनको कुल सम्पत्ति २१ अर्ब डलर छ।

संसारकी सातौं धनी महिला लरेन पावेल जब्स हुन्। उनी एप्पल कम्पनीका संस्थापक स्टिव जब्सकी श्रीमती हुन्। लरेनको कुल सम्पत्ति १८.६ अर्ब डलर छ र उनी संसरकी ५४ औं धनी व्यक्ति हुन्। स्टिवको मृत्यु हुँदासम्म एप्पल र डिज्नेमा उनको पारिवारिक सेयर २० अर्ब डलर बराबर थियो।
पछि लरेनले केही पैसा ‘एटलान्टिक’ पत्रिकामा लगानी गर्दै प्रमुख लगानीकर्तामध्ये एक भइन्। उनले गैरनाफामुखी प्रकाशन ‘मदर जोन्स’ र ‘प्रोपब्लिका’ मा पनि लगानी गरेकी छन्। योबाहेक उनले शैक्षिक क्षेत्रमा पनि लगानी गरेकी छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij