२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चर्चित गायिका अञ्जु पन्तले गरिन बुटिक उद्घाटन

चर्चित गायिका अञ्जु पन्तले गरिन बुटिक उद्घाटन

2.8K
Shares

काठमाडौं – चर्चित गायिका अञ्जु पन्तले आफू फेसनेवल नभएको बताएकी छन् । राजधानीको डिल्लीबजारमा कुसुम बुटिकको उद्घाटन गर्दै यी चर्चित गायिकाले भनिन्, ‘म फेसन कन्सस पनि होइन । तर, स्टेज पर्फमेन्सले गर्दा फेसन गर्नु परिहाल्यो ।’
करिब दुई दशकयता सुगमसंगीतमा महिला स्वरमा एकछत्र राज गर्दै आएकी अञ्जुले भनिन्, ‘मलाई त सारी लगाएर पर्फमेन्स गर्न मनलाग्छ किनकि पछिल्लो समय स्टेजमा सारी देखिनै छाड्यो ।’ फेसन डिजाइनर कुसुम श्रेष्ठले सञ्चालन ल्याएको ‘कुसुम बुटिक’को उद्घाटनपछि आगन्तुक पाहुना तथा आफ्ना फ्यानहरुसँग तस्बिर खिचाउँदै उनले भनिन्, ‘म पनि निकै राम्री पो देखिएकी छु ।’ अञ्जुले कुसुम बुटिककै सिल्भर कलरको लेहेँगा र रानी कलरको गाउन पहिरिएर रिवन काटेकी थिइन् । उनी उक्त पहिरनमा निकै खुलेकी थिइन् ।
पछिल्लो समय फेसन कन्सस नभएपनि अञ्जुले खाना–पानमा निकै ख्याल राख्न थालेकी छन् । जसले गर्दा उनको सुन्दरता त निखारिँदै गएको छ नै, उनले आफ्नो वजन समेत ह्वातै घटाएकी छन् । केही महिनाअघि मात्र ६७ केजीकी अञ्जुले अहिले आफ्नो तौल ५० केजीमा झारेकी छन् । पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘५० केजीभन्दा पनि कम छु होला । यो सबै खानपानकै करामत हो ।’ अञ्जु ठट्टा गर्न पनि माहिर छिन् । आफ्नो तौल अनपेक्षित रुपमा घटाएकी अञ्जुले ठट्टा गर्दै भनिन्, ‘अहिले त म मेरी छोरी भन्दा पनि सानी भएकी छु ।’ तौल घटाउनु र आफ्नो सुन्दरता झल्किँदै जानुमा ‘डाइटिङ’ नभएको पनि उनले स्पष्ट पारिन् । ‘म डाइटिङ गर्दिनँ’ अञ्जुले भनिन्, ‘समयमा खानु र सुत्नु नै सबैभन्दा ठूलो स्वाथ्य हो ।’
अञ्जुलाई अहिलेसम्म कति गीतमा स्वर दिए भन्नै समेत यकिन छैन । उनले भनिन्, ‘दैनिक तीनदेखि ६ वटासम्म गाउँदै आएकी छु । अहिलेसम्म त्यस्तै ६ हजार पुग्यो होला ।’ पछिल्लो समय नेपाली चलचित्र र सुगमसंगीतमा उनकै गीतले चर्चा पाउने गरेको छ ।
फेसन डिजाइनर कुसुम श्रेष्ठ बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’को पहिलो ब्याचकी विद्यार्थी हुन् । आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा सकेपछि उनले ‘कुससम बुटिक’ सञ्चालनमा ल्याएकी हुन् । आफ्नो बुटिकमा ग्राहकको रुचिअनुसार फहिरन तयार गर्ने उनले बताइन् । पार्टी वेयर, इभिङ वेयर, गाउन, वासपिस, लेहेँला, कुर्ता सुलवारलगायत क्याजुअल वेयर पनि अर्डरअनुसार तयार गर्ने कुसुमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij