काठमाडाैं-प्रधानमन्त्री केपी ओली चढेकाे विमान आकाशमा ‘होल्ड’ गरेकाे सम्बन्धमा छानबिन हुने भएको छ । ओली चढेकाे विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘होल्ड’ गरेकाेबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । गत फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौं अवतरण गर्ने क्रममा प्रधानमन्त्री ओली चढेकाे यती एयरलाइन्सको विमान आकाशमा तीन फन्का लगाएको थियाे । विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ । विशिष्ठ व्यक्तिको उडान होल्ड भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सम्बन्धित एयरलाइन्सले अतिविशिष्ठ व्यक्ति (भिभिआइपी) को उडानबारे विमानस्थललाई जानकारी नगराएले प्रधानमन्त्री चढेकाे जहाज होल्डमा परेको प्रतिक्रिया दिए । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानून मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij