गुल्मी- आगामी २२ चैतदेखि २ वैशाखसम्म प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सव एवं व्यापार मेला हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा महोत्सवको आयोजना हुन लागेको हो ।
गुल्मेली कला, संस्कृति तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलन गर्दै गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष युवराज न्यौपानेले महोत्सव सफल बनाउन सबै पक्षसँग समन्वय र सहकार्य गरिने बताए । स्थानीय तह, उद्योगी, व्यवसायी र अन्य गैरसरकारी संस्था र पत्रकारको सहयोग पनि उत्तिकै आवश्यक रहेको न्यौपानेले बताए ।
चेम्बरका उपाध्यक्ष हिमाल श्रेष्ठले महोत्सव जिल्ला र गुल्मेलीको हितमा हुने बताए । चेम्बर स्थापनाको अवसरमा महोत्सव आयोजना गर्न लागिएको पनि उनले स्पष्ट पारे । महोत्सव तम्घासको चिदीचौर खेल मैदानमा हुनेछ । जिल्लामा उत्पादित कफी, सुन्तला, मह, च्याउ, सेरामिक्स तथा अन्य कृषिजन्य उत्पादन मेलाको आकर्षण रहने उनको भनाइ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij