काठमाडौं । मध्याह्नको गर्मीमा हातले गाडी रोक्न इसारा गरेको घण्टौं बितिसक्यो । तर, कुनै पनि गाडी रोक्न मानेका छैनन् ।
जमलमा बस कुरिरहेकी ६९ वर्षीया गायत्री पन्तलाई बोहोराटार जानु छ । उनलाई नै क्रस गर्दै हुइँकिएका गाडीले उनको इसारालाई हेरेनन्, हेरे पनि वास्ता गरेनन् । कारण थियो काठमाडौंमा हुने ट्राफिक जामलाई कम गर्न टुँडिखेल आसपासलाई आधार बनाएर ल्याइएको ‘पिक एन्ड ड्रप’ कार्यक्रम ।
जसकारण हिजोहाज यो रुट भएर चल्ने सवारीसाधन साबिकको जस्तै जमलमा रोकिँदैनन् । यसबारे उनी बेखबर थिइन् । शिवरात्रिको दिन यसै पनि कम मात्रामा गाडी चलेका थिए । अब, उनले गाडी चढ्न लगभग एक किलोमिटर हिँडेर या त सुन्धारा पुग्नुपर्छ या त लैनचौर । उनी निराश हुँदै दुखेसो पोख्छिन्, ‘त्यत्रो हिँड्न सक्ने भए गााडी किन चढ्नुपथ्र्यो !’
गाडीले यात्रु कुरेर बस्दा जाम बढेको तथा वातावरणीय प्रदूषणको समस्या देखिएको भन्दै ‘पिक एन्ड ड्रप’ कार्यक्रम सुरु गरिएको थियो । काठमाडौं महानगरपालिकाको अगुवाइमा ट्राफिक प्रहरी र अन्य निकायसँग सहकार्य गरी गत १ पुसदेखि पहिलो चरणमा यो व्यवस्था लागू गरिएको हो । यो व्यवस्था सुरु भएको तीन महिनाको अवधिमा समेत सर्वसाधारणको गुनासो उस्तै छ ।
यसले जामलाई केही भए पनि कम त गरेको छ तर सर्वसाधारणको सुविधाका सवालमा भने अवैज्ञानिक साबित भएको छ । यससँग सम्बन्धित कतिपय सवाललाई ध्यान दिन नसक्दा सर्वसाधारण यात्रु भने मर्कामा पर्ने गरेका छन् । राजधानी दैनिकमा याे खबर छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij