काठमाडाैं -मारुती सुजुकीको सब–कम्प्याक्ट एसयूभी भिटारा ब्रेजाले ३ वर्षकै अवधिमा ४ लाख युनिट बिक्री भएर नयाँ रेकर्ड कायम गरेको छ ।
मारुती सुजुकीले एक विज्ञप्ति प्रकाशित गर्दै सो कुराको जानकारी गराएको छ । चालु आर्थिक वर्षमा ब्रेजाको बिक्रीमा औसत ७ प्रतिशतले वृद्धि भएको छ । यो कार मासिक औसत १४ हजार ६७५ युनिट बिक्री भएको छ ।
मारुती सुजकीले सन् २०१६ मार्चमा भिटारा ब्रेजा लन्च गरेको थियो । कम्पनीले स्माल एसयूभी श्रेणीमा भिटारा ब्रेजाको बजार हिस्सा ४४.१ प्रतिशत रहेको दावी गरेको छ ।
मारुती सुजुकी भिटारा ब्रेजामा १२४८ सीसीको फोर सिलिन्डर डिजेल इन्जिन छ, जसले ८८ बीएचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा ४८ लिटरको इन्धन ट्यांकी छ । यसको माइलेज २४.३ किलोमिटर प्रतिलिटर छ ।
अब भने भिटारा ब्रेजा टोयोटा ब्याजका साथ आउने छ । गत वर्ष मारुती र टोयोटाको बीच यस सम्बन्धी सम्झौता भएको छ । टोयोटाले पेट्रोल र डिजेल दुवै इन्जिनका साथ सो कार लन्च गर्नेछ ।
टोयोटा ब्रेजामा नयाँ फ्रन्ट ग्रिल, फ्रन्ट बम्पर र हेडल्याम्प्स हुनेछ । पछिल्लो भागमा नयाँ बम्परका साथ टोयोटाको टेल लाइट र क्रोम टच उपलब्ध हुनेछ । त्यसैगरी ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम र ड्युअल जोन क्लाइमेट कन्ट्रोल उपलब्ध हुनेछ ।
ब्रेजाको प्रतिस्पर्धा हालै बजारमा उपलब्ध महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन र फोर्ड इकोस्पोर्टसँग छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij