२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली दुई बालक ‘सारेगमप लिटिल च्याम्प्स्’ को टप १५ मा छानिए

नेपाली दुई बालक ‘सारेगमप लिटिल च्याम्प्स्’ को टप १५ मा छानिए

2.1K
Shares

भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारण भइरहेको कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प्स्’ मा दुई नेपाली बालकले प्रतिस्पर्धा गरिरहेका छन्। इटहरीका प्रितम आचार्य र भक्तपुरका आयुस केसी ‘सारेगमप लिटिल च्याम्प्स्’ को टप १५ मा पर्न सफल भएका छन्। गायन प्रतिस्पर्धामा उनीहरू दुवै खरो उत्रिँदै टप १५ मा छनौट भएका हुन्।

कार्यक्रमको नियमअनुसार यो राउन्डबाट टप १५ जना मात्र छानिने भए पनि जजहरूले यसपालि १६ जना छानेका छन्।

सारेगमप कार्यक्रम जिटिभीमा सबभन्दा लामो समयदेखि चल्दै आएको कार्यक्रम हो। सन् २०१९ सम्म आइपुग्दा यो कार्यक्रमले २३ वर्ष पूरा गरिसकेको छ। सारेगमप लिटिल च्याम्प्स भने सन् २००६ बाट सुरू भएको हो। यही फेब्रुअरी ९ बाट सुरू भएको हो सिजन सातौं हो। यसमा ५ देखि १४ वर्षका केटाकेटीले भाग लिन पाउँछन्।

यो सिजनमा गायकहरू शान, अमाल मलिकका साथै रिचा शर्मा जज छन्। कार्यक्रममा ३० जना जानेमाने गायक-संगीतकारको ग्र्यान्ड जुरी पनि छ। प्रतिस्पर्धीले अगाडि बढ्न जजका प्रतिक्रियाका साथै ग्र्यान्ड जुरीको पनि मन जित्नुपर्ने हुन्छ।

टप १६ मा छानिएका आयुस र प्रितम दुवै बिक्रम सम्वत् २०७२ मा कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘सुरशाला आइडल जुनियर’ का प्रतिस्पर्धी थिए। आयुस प्रतियोगिताका विजेता हुन् भने प्रितम उप-विजेता।

एघार वर्षीय प्रितम इटहरीस्थित विश्व आदर्श स्कुलमा कक्षा ६ मा पढ्छन्। उनले हिन्दी फिल्म ‘बोर्डर’ को ‘सन्देशे आते है, हमे तड्पाते है..’ गीत गाएर सबै जजलाई खुसी बनाएका थिए। टप १६ को चरणमा उनले ‘कल हो ना हो’ फिल्मको ‘हर घडी बदल रही है रूप जीन्दगी’ गाएका थिए।

त्यस्तै भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ७ पढ्ने आयुस वर्ष १२ का छन्। टप १६ को प्रतिस्पर्धामा आयुसले फिल्म ‘जिरो’ को ‘जब तक जहाँ में सुबह साम हो तब तक मेरे नाम तू’ गीत गाएर जजहरूको मन जितेका थिए।

आयुस र प्रितम नेपालबाट पहिलो चरणको अडिसन दिन भारत पुगेका होइनन्। जिटिभीले सुरशाला एकेडेमीमार्फत् आयुस र प्रितमले गाएका गीतका भिडियोहरू हेरेर उनीहरूलाई सोझै दोस्रो चरणका लागि दिल्ली बोलाएको थियो।

दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’ मा छानिएका आयुस र प्रितम ‘स्टुडियो राउण्ड’का लागि मुम्बई गए। त्यसपछि टप ३० हुँदै टप १५ मा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij