काठमाडौं– थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजयी सुरूवात गरेको छ।
मंगलबार नेपालले मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो।
१ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटियो।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी करूणा भण्डारी र सरिता मगरले २–२ विकेट लिँदा कविता कुँवर र सीता रानामगरले १–१ विकेट हात पारे।
मलेसियाका लागि क्रिष्टिना वारेतले सर्वाधिक २५ रनको योगदान दिइन्। विनिफ्रिड डुराइ सिंगामले १८ रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन्।
नेपाललाई बलियो योगफलसम्म पुर्याउन कप्तान रुविना क्षेत्री र उपकप्तान सिता रानामगरले उत्कृष्ट ब्याटिङ गरे।
ओपनर सिता राना मगरले ४० बल खेल्दै २ चौकासहित ४२ रन बनाउँदा कप्तान रूविनाले २५ बलमा नटआउट ३३ रन जोडिन्। उनले ३ चौका प्रहार गरेकी थिइन्।
ओपनर काजल श्रेष्ठले १६ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन्।
नेरी थापा १३ बलमा ६ रन जोड्दै रनआउट भइन । ममता चौधरी कुनै बल नखेल्दै रनआउट भइन ।सरिता मगरले १ बलमा १ रन जोडिन् ।
नेपालका लागि ओपनरद्वय सिता र काजलले ४६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।
त्यसपछि कप्तान रुविना क्षेत्री र सिताले २५ रनको आक्रामक साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्याए।
छनोटमा ७ टोलीको सहभागिता रहेको छ। यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि बैंककस्थित तेर्थाई मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो।
राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij