काठमाडौं — नेपाली बजारमा जापानी कम्पनी टेरा मोटर्सका विद्युतीय स्कुटर पहिले देखि नै उपलब्ध छन् ।
टेरा मोटर्सका लागि नेपालको आधिकारिक वितरक फेयर अटो प्रालिले हाल बजारमा इको र अक्युटो गरि दुई मोडेलका विद्युतीय स्कुटरहरु बिक्री गदै आएको छ । टेरा एक जापानी कम्पनी हो यसले सन् २०१४ देखि नेपालमा विद्युतीय स्कुटरहरु बिक्री–वितरण गर्दै आएको छ ।
इको सन् २०१६ को नोभेम्बरमा पहिलो पटक नेपाल भित्रिएको हो । एक पटकको फूलचार्जबाट यसलाई ८० किलोमिटर सम्म कुदाउन सकिन्छ । यसलाई एकपटक फूलचार्ज गर्न ७ देखि ८ घण्टाको समय लाग्छ । ६० किलोमिटर प्रतिघण्टा टप स्पिड भएकोे यो स्कुटरको अधिकतम सामथ्र्य २००० वाट रहेको छ भने यसको ग्राउन्ड किलियरेन्स १५५ एमएम् रहेको छ ।
यो स्कुटरमा लिड एसिड ब्याट्री तथा हेलोजन लाइटको प्रयोेग गरिएको छ । यो स्कुटर खरिद गर्दा इलेक्ट्रि«क पार्ट्समा २ बर्ष र ब्याट्रीमा १ बर्षको वारेन्टीका साथै लाइफ टाइम फ्रि सर्भिस पाउन सकिन्छ । नेपाली बजारमा यो स्कुटरको मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
अक्युटो लगभग १ बर्ष अघि नेपाल भित्रिएको हो । ४ देखि ५ घण्टाको एकपटकको फूलचार्जबाट यसलाई ६० किलोमिटरसम्म कुदाउन सकिन्छ । यो स्कुटरको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ भने ग्राउन्ड किलियरेन्स १३५ एमएम छ । ३००० वाट सामथ्र्य भएको यो स्कुटरमा लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ ।
यसको अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । साथै यो स्कुटरमा मोबाइल चार्ज गर्न मिल्ने ब्यबस्था पनि छ । यो स्कुटर खरिद गर्दा ब्याट्री, चार्जर, कन्ट्रोलर र मोटर्समा २ बर्षको वारेन्टी पाउन सकिन्छ । यसको मूल्य नेपाली बजारमा २ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
हालसम्म नेपालमा इको ४०० युनिट भन्दा बढी र अक्युटो ३० युनिट बिक्री भइसकेको फेयर अटोकी सेल्स हेड समिता पाण्डेले बताइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij