काठमाडौं– मुलुकको अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ ।
एक समारोहकाबीच कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण गरे । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाकी महासचिव डा. सरिता घिमिरेले प्रारम्भिक चरणमै स्क्रिनिङ गरी क्यान्सरको सम्भावना टार्ने वा थोरै खर्चमा उपचार गरेर क्यान्सरको त्रासदीबाट सर्वसाधारणलाई पर राख्ने कार्यमा केन्द्रित संस्था विशुद्ध गैरनाफामूलक रहेको बताइन् । उनले आर्थिक स्रोतको अभावले लक्ष्य अनुसार अघि बढ्न संस्थालाई कठिन भएको बताइन् ।
संस्थाका अध्यक्ष सुशील पन्तले स्क्रिनिङ र सचेतनामार्फत क्यान्सर हुनै नदिने उद्देश्यले संस्था स्थापना भएको बताए । बेलैमा स्क्रिनिङ गरे सात दिनमा ५ हजार रुपैयाँको ओखतिले क्यान्सरको जोखिमबाट मुक्त गराउने सम्भावना रहेकोले त्यो प्रयासका लागि संस्था स्थापना गरेको उहाँले जानकारी दिए ।
गत वर्ष छोराको विहे गर्दा भोज नगरीकन फाउन्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेका वरिष्ठ अधिवक्ता पन्तले स्रोत, साधन नहुँदा नहुँदै पनि सुरु गरे कहीँ न कहीँ पुगिन्छ भनेर संस्था स्थापना गरेको बताए ।
त्रिकोणका प्रबन्ध निर्देशक अर्यालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी कार्य गर्ने व्यापारिक प्रतिष्ठानहरुलाई फाउन्डेसनलाई सहयोग गर्न आग्रह गरे ।
संस्थाकी महासचिव डा. घिमिरे लगायत संस्थामा आबद्ध कैयौं व्यक्तित्वले स्वयंसेवकको रुपमा पूरै समय दिएर निःशुल्क काम गरिरहँदा पनि स्रोतको अभाव खड्किएको भन्दै अर्यालले संस्थाका उद्देश्य र कार्यलाई आम जनमानससम्म पु¥याइदिन सञ्चारकर्मीलाई आग्रह गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij