२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निसान किक्स अब नेपालमा, मूल्य र विशेषता यस्तो छ

निसान किक्स अब नेपालमा, मूल्य र विशेषता यस्तो छ

1.8K
Shares

काठमाडौं – निसानको नयाँ एसयूभी ‘किक्स’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले निसानको बहुप्रतीक्षित गाडी किक्स सार्वजनिक गरेको हो ।

नयाँ गाडीले विशेष सुविधासहितको आरामदायी सेवा दिने कम्पनीले जनाएको छ । हिजो सार्वजनिक गाडीको सुरुवाती बजार मूल्य ४७ लाख ९९ हजार रुपैयाँ र टप लेभलको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सो एसयूभी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । डिजेल इन्जिनयुक्त किक्सको मूल्य ४९ लाख ९९ हजार, ५६ लाख ९९ हजार र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिनयुक्त किक्सको मूल्य ४७ लाख ९९ हजार र ५२ लाख ९९ हजार रहेको छ ।

यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् ।

यसमा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन छ । पेट्रोल इन्जिनले १०६ बीएचपी पावर र १४२ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले ११० बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।

यसका अन्य कतिपय विशेषता छन्, जसमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएकोछ ।

 

बिक्री प्रारम्भ गरिएको समारोहमा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासँग ल्याउन सकेकोमा खुसी व्यक्त गरे । उनले नयाँ गाडीले नेपालीको अभिरुचि पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एच४केको ५ स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ के९के डीसीआईको ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन्।

यसको माइलेज क्षमता उत्तम मानिएकोछ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

यी गाडीहरु पायोनियरको नयाँ बिक्रीकक्ष काठमाडौं उत्तरढोका र देशभरका बिक्री केन्द्रहरुबाट खरिद गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij