काठमाडौं-गोल्छा अर्गनाइजेसन र भारतको हेस्टर बायो साइन्सेस लिमिटेडको संयुक्त लगानीमा पशुपक्षीको भ्याक्सिन उत्पादन गर्ने उद्योगको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । काभ्रेको नाला उग्रचण्डीमा रहेको उक्त उद्योगले वर्षको १ अर्ब भायलभन्दा बढी भ्याक्सिन निर्यात गर्ने गरेको छ । कम्पनी करिब ३ वर्षदेखि सञ्चालनमा रहेको छ ।
कम्पनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा आधुनिक प्रविधिको पनि उत्तिकै सम्भावना रहेको प्रभाणित भएको बताए । उक्त कम्पनीमा काम गर्ने सबै कर्मचारी र प्राविधिक नेपाली भएकाले पनि नेपालमा दक्ष जनशक्तिको विकास भएको बुभ्mन सकिने उनको भनाइ थियो । नेपाल पशुपक्षीको भ्याक्सिनको उत्पादनमा आत्मनिर्भरताको बाटोमा रहेको भन्दै उनले खुसी व्यक्त गरे । उद्योग मन्त्रालयअन्तर्गत स्थापना हुने उद्योगलाई चाँडै एकद्वारबाट सेवा दिने उनले जानकारी दिए ।
निजीक्षेत्रलाई प्रोत्साहित गर्ने र संरक्षित गर्ने काम सरकारले गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजीक्षेत्रसँग सहकार्य गरेर समस्या हल गरिरहेको बताए । विद्युत्, शान्तिसुरक्षा, स्थायी सरकार, सही कर प्रणाली, श्रम सम्बन्धजस्ता समस्या अहिले रहेकाले नेपालमा लगानी गर्ने उचित समय रहेकोमा उनको जोड थियो ।
हेस्टर बायो साइन्सेस भारतका सिइओ तथा प्रबन्ध निर्देशक राजीव गान्धीले हेस्टरले उत्पादन गरेको भ्याक्सिनले नेपालमा मात्र नभई विश्वमै जनावर तथा पक्षीमा हुने विभिन्न रोग घटाउन सहयोग पुग्ने बताए । गाईबस्तु, कुखुरा, हाँस, भेडा, बाख्रा, सुँगुरका लागि भ्याक्सिन उत्पादन गर्ने उनले जाकारी दिए ।
नेपालमा कम्पनी स्थापना गर्दा उच्च दक्षताका नेपाली जनशक्ति पाउन गाह्रो हुने भनेर सबैले निरुत्साहित गरे पनि अहिले सबै कर्मचारी नेपाली रहेको भन्दै उनले नेपालमा जनशक्तिको अभाव नरहेको बताए । हाल ५० जना कर्मचारी रहेकोमा चाँडै २ सय ५० जनालाई रोजगारी दिने उनको भनाइ थियो । चाँडै नै खोरेतको भ्याक्सिन निर्माणको तयारीमा पनि रहेको उनले जानकारी गराए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उक्त उद्योग सुरुवात भएको र निजीक्षेत्रले आउँदा दिनमा यस्ता धेरै नयाँ कम्पनी भिœयाउने विश्वास व्यक्त गरिन् । समृद्धिका लागि रोजगारी सिर्जना हुनुपर्ने र त्यसका लागि धेरैभन्दा धेरै उद्योग खुल्नुपर्ने उनले बताइन् । अहिले उद्योगीले खोजेजस्तै सकारात्मक वातावरण भएको उनको भनाइ थियो । निजीक्षेत्रले सही नीति, एकीकृत कर प्रणाली र बलियो वित्तीय प्रणाली भए धेरै उद्योग खोल्न सकिने उनले बताइन् ।
कम्पनी ६५ करोड रुपैयाँमा स्थापना भएको हो । कम्पनीले उच्च प्रविधिको प्रयोग गरेर वार्षिक १ अर्ब २४ करोड भायल लाइभ र सक्रिय भ्याक्सिन उत्पादन गर्न सक्छ । हाल कम्पनीले १७ प्रकारका भ्याक्सिन उत्पादनको अनुमति पाइसकेको र २९ प्रकारका भ्याक्सिन उत्पादन अनुमतिको प्रतीक्षामा रहेको हेस्टरका सिइओ तथा प्रबन्ध निर्देशक गान्धीले बताए ।
गोल्छा अर्गनाइजेसनका प्रबन्ध निर्देशक शेखर गोल्छाले कम्पनीको नारा नै ‘जब हुन्छ नेपाली स्वस्थ, तब बन्छ समृद्ध नेपाल’ राखेको जानकारी दिए । सरकारको समृद्ध नेपाल बनाउने अभियानलाई सघाउन कम्पनीले योगदान पु¥याउने उनको भनाइ थियो । उक्त उद्योगको उत्पादनले पशुपक्षीलाई निरोगी राख्ने र यसले कृषक तथा उपभोक्तालाई स्वस्थ राख्ने दाबी गरे । निर्यातमूलक उद्योग भएकाले देशको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने उनले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij