२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पछिल्लो चार महिनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

पछिल्लो चार महिनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

1.1K
Shares

नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महिनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ।

विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महिनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार ६२५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहितामा जुवा खेल्ने र चिठा सञ्चालन गर्ने पनि जेल जानुपर्ने सजाय थप गरेको भए पनि जुवा खेल्ने खेलाउनेमा भने कमी आएको पाइँदैन।

गत असोज २६ गते काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ थलीबाट ६६ हजार ९०० नगदसहित मधु पौडेललगायत १५ जनाविरूद्ध बौद्ध प्रहरीले मुद्दा चलाएको थियो। सोही महिनामा गोर्कर्णेश्वर नगरपालिकाको बेँसीगाँउबाट ४९ हजार ९५० नगद र दिलबहादुर राईसमेत सात जनालाई पक्राउ गरी उनीहरूविरूद्ध मुद्दा चलाइएको थियो।

असोज महिनामा मात्रै चार जुवाखालबाट रु दुई लाख ८२ हजार ३९५ नगदसहित ३५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बौद्धले मुद्दा चलाएको हो।

त्यस्तै, कात्तिक महिनामा काठमाडौंको बौद्ध परिसरभित्रका विभिन्न होटल तथा जुवाखालबाट सादा पोशाकमा खटिएका तथा प्रहरी अधिकृत सहितको टोलीले रु ६ लाख १६ हजार ८२५ बरामद गर्नुको साथै ५९ जना जुवाडेलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

कपन र टाउन प्लानिङको क्षेत्रमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मङ्सिर महिनामा दुई जुवा खालबाट रु ६ लाख तीन हजार ९८० सहित २१ जनालाई पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै पुस महिनामा दुई जुवाखालबाट प्रहरीले २८ जुवाडेसहित बौद्ध फूलबारी र थलीबाट रु सात लाख ५० हजार ७५५ बारमद गरेको थियो। पक्राउ परेकाविरूद्ध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए।

चालू माघ महिनाको २२ गतेसम्ममा ३४ जुवाडे पक्राउ परेका छन् भने उनीहरूबाट रु दुई लाख ६७० बरामद भएको थियो। पक्राउ पर्ने वित्तिकै थप अनुसन्धानपश्चात म्याद थप गरी मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij