काठमाडौं– ग्लोबल आइएमई बैंकले रेमिट्यान्स डिपोजिट बचत खाता योजना सञ्चालन गरेको छ । नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङमा बदल्ने उद्देश्यले बैंकले सञ्चालन गरेको बचत खाता खोल्दा ग्राहकले बोनस ब्यालेन्सस्वरूप ५ सय रुपैयाँ पाउने बैंकले जनाएको छ ।
विदेशबाट नेपालमा भित्रिइरहेको रकमबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै ब्याज आर्जन होस् भन्ने उद्देश्यका साथ बैंकले नयाँ खाता योजना सञ्चालन गरेको बताएको छ ।
कामका लागि विभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडि नै वा निरन्तर रूपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले यो खाता सञ्चालन गर्न सक्ने बैंंकको भनाइ छ । जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैंकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले आमनागरिकमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले विभिन्न समयमा यस्ता योजना सञ्चालन गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर १ सय ३३ शाखा, १५ राजस्व संकलन काउन्टर, १ सय ४२ एटिएम, ७ एक्सटेन्सन काउन्टर तथा १ सय १७ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा सञ्चालन गर्दै आएको बैंकले अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि–सम्पर्क कार्यालय स्थापना गरी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij