तनहुँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए।
तनहुँ कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए।
सबै एकजुट भएर अगाडि बढे कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए।
महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेको जिकिर गर्दै सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको यो विधान कांग्रेस पार्टीको आत्मविश्वासको प्रतीक भएको बताए।
त्यसका साथै तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले ‘सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारबाही गर्न असफल भएकोले’ उसका क्रियाकलापविरूद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij