भक्तपुर – भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला २०१९ बिहीबारदेखि भक्तपुरमा सुरु भएको छ। एक्स्पोको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरे। भक्तपुर नगररपालिका–१, सल्लाघारीमा भइरहेको एक्स्पो ३० गतेसम्म चल्नेछ।
आयोजक संघका अध्यक्ष पुन्यराम खाताखोले उपभोक्ताले नयाँनयाँ इलेक्ट्रोनिक्स सामान खरिद गर्न भक्तपुर बाहिर जानुपर्ने बाध्यतालाई मुक्ति मिलोस् भनेर प्रत्येक वर्ष एक्स्पो गर्दै आएको बताए। एक्स्पो दुई लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ। एक्स्पोमा ५० करोडबराबरको कारोबार हुने लक्ष्य राखिएको छ। एक्स्पोमा विभिन्न ब्रान्डका मोबाइल, एलइडी टिभी, फ्रिज, वासिङ मेसिन, एसी, कुकिङ रेन्ज, कम्प्युटर, ल्यापटप, माइक्रो ओभनलगायत तीन सयभन्दा बढी प्रकारका विद्युतीय सामग्री प्रदर्शनीमा छन्।
एक्स्पोको ब्रान्ड एम्बास्डरको रुपमा मिस भक्तपुर अलिना खड्का रहेका छन्। एक्स्पोको हरेक दिन राष्ट्रिय तथा स्थानीय गायक–गायिका र सांगीतिक ब्यान्डबाट सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ। डिजे सेसनसमेतको व्यवस्था हुने एक्स्पोमा भरपुर मनोरञ्जनको व्यवस्थासमेत गरिएको छ। जसअनुसार भक्तपुरको परम्परागत र सांस्कृतिक नाचगान र परम्परागत गीत तथा नृत्य प्रतियोगिता एक्स्पोको अर्को आकर्षण रहने विश्वास रहेको छ। एक्स्पोमा रोटेपिङ, ट्रेनलगायत खेलसहितको फनपार्क सञ्चालनमा ल्याइने छ। सांस्कृतिक फेसन सो एक्स्पोको अर्को नयाँ प्रस्तुति हुने जनाइएको छ।
त्यस्तै भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामग्री, रेडिमेड लुगा तथा कपडा, घरायसी समान, फर्निचर, अटोमोबाइललगायत सामग्रीसमेत प्रदर्शनी छन्। उपभोक्ताको हितलाई ध्यानमा राख्दै मेलामा विभिन्न इलेक्ट्रोनिक्स सामान प्रयोग गर्ने विधि सिकाउने कक्षको समेत व्यवस्था गरिएको छ। एक्स्पो अवधिभर उपभोक्ताका लागि विभिन्न सामान खरिदमा १५ देखि ५५ प्रतिशतसम्म छुट हुने जनाइएको छ। एक्स्पो प्रवेश गर्न ५० रुपैयाँ शुल्क तोकिएको छ। उपभोक्ता र व्यवसायीबीचको प्रत्यक्ष सम्बन्ध सुमधुर बनाउने, गुणस्तरीय सामग्री सहज र सस्तो मूल्यमा उपलब्ध गराउने, भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रुपमा विस्तार एवं विकास गर्ने आधार तयार गर्ने, भक्तपुरको पर्यटन तथा संस्कृतिको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्य राखिएको जनाइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij