काठमाडौं -सर्वोच्च अदालतले मुक्ति श्री सिमेन्टका नाममा आएको पैसा झिकेको भए पनि फेरि बैंकमै राख्न वा राख्न लगाउनू आदेश दिएको छ।
यसअघि न्यायाधीश दीपकराज जोशीले उक्त पैसा झिक्न पाउने गरी दिएको आदेश खारेज गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले मंगलबार उक्त आदेश दिएको हो।
न्यायाधीश जोशीले दिएको आदेशपछि सुमार्गीले बैंकबाट रोक्का रहेको ७५ लाख अमेरिकी डलर झिकिसकेका छन्। मुक्तिश्री सिमेन्टका नाममा आएको ४ करोड ५० लाख अमेरिकी डलरमध्ये राष्ट्र बैंकले रोक्का गरेको ७५ लाख डलर बैंकमा थन्किएको थियो। सोविरूद्ध सुमार्गीले रकम फुकुवाका लागि अन्तरिम आदेश गराई पाउँ भन्दै निवेदन हालेका थिए।
बिहिबार आएको लिखित आदेशमा उक्त रकम पूर्ववत अवस्थामा राख्न वा राख्न लगाउन भनिएको छ।
पहिलेको आदेशले निरन्तरता नपाएको र सुमार्गीले कानुन बमोजिम नेपाल भित्र्याइएको हो कि हैन भन्ने विवाद नै रहेको भन्दै सर्वोच्चले यस्तो आदेश गरेको हो।
‘उक्त आदेशले निरन्तरता नपाएको हुँदा र कानुन बमोजिम जे जस्तो कारबाही र प्रकृया अपनाउनुपर्ने हो, अपनाई विपक्षी नेपाल इन्भेष्टमेन्ट बैंकमा प्राप्त विवादित रकम पुस १० को आदेश पूर्वको अवस्थामा राख्नूर राख्न लगाउनू भनी विपक्षीहरूलाई लेखी पठाउनू’आदेशमा भनिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij