काठमाडौं -सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ ।
बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।
गृह मन्त्रालय मातहत रहेको विभागलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने निर्णय गरिसकेको छ । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा रहेको ३० वर्षे सेवाहदको प्रावधान पनि हटाएको छ । अब पदावधि र उमेरहदका कारण मात्र विभागका कर्मचारीले अवकाश पाउनेछन् । एआइजीको दरबन्दी दुई बनाइएको छ । यसअघि तीन थियो । त्यस्तै, प्रमुखको पदावधि तीन वर्ष, एआइजीको चार वर्ष तथा डिआइजीको पाँच वर्ष बनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij