२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली सेनाको घोडा फार्म : आत्मनिर्भर तर्फ उन्मुख

नेपाली सेनाको घोडा फार्म : आत्मनिर्भर तर्फ उन्मुख

3.2K
Shares

नेपाली सेनाले घोडा आवश्यकता पूर्ति गर्नका लागि चितवनको भरतपुरस्थित ‘सैनिक इक्वाइन बृडिङ सेन्टर’ स्थापना गरेको छ । अन्य देशले दिएको उपहारको भरमा मात्र आफ्नो आवश्यकता पुरा हुन गाह्रो हुने भएकोले नेपाली सेनाले १४ पुस ०४१ सालमा यो स्थापना गरेको हो ।


चितवनको यो बृडिङ सेन्टर घोडा उत्पादन गर्ने नेपालको एक मात्र केन्द्र हो । सेनाले भारत, पाकिस्तान, अष्ट्रेलिया लगायतका देशबाट घोडाहरु ल्याएर उत्पादन सुरु गरिएको इतिहास भेटिन्छ । हालका दिनहरुमा भने स्वदेशी घोडालाई पनि राखिने गरिएको छ ।
हाल केन्द्रमा रहेका ४८ पोथी र २५ भाले गरी ७३ वटा घोडा र गधा रहेका छन् ।
हरेक कोठामा एउटा घोडालाई मात्र राखिने भए पनि उनीहरु अन्य समय सँगै बस्ने गरेका छन् एक घोडाको स्याहारमा खटिएका सुरक्षाकर्मीले बचाए ।


पहाड र तराईमा पाइने पोनी जातको घोडाहरु यहाँ राखिन्छन् । हाल ती घोडा र खच्चडहरुको रेखदेख र स्वास्थ्य उपचारका लागि ५४ जना सैनिक अधिकारीहरु खटिएका छन् ।
केन्द्रमा ‘हाइब्रिड’ घोडा भने उत्पादन हुँदैन । एक चिकित्सक भन्छन्, ‘हामीले एउटै ब्रिडमा क्रस गरेर बच्चा उत्पादन गर्ने गरेका छौं ।’ यसको मतबल यो केन्द्रमा हाडनाता पर्ने घोडाबाट बच्चा उत्पादन गराइँदैन ।


त्यसका लागि अधिकारीहरुले प्रत्येक घोडाहरुको विवरण राख्ने गरेका छन् । आमा, बुबा, हजुरबुबा, हजुरआमादेखि कम्तिमा ३ पुस्तासम्मको विवरण राखिने जनाइएको छ ।
विदेशबाट ल्याइएका घोडाहरुको ‘पासपोर्ट’ नै हुन्छ । जसमा उनीहरुको तीन पुस्ते विवरण, जन्म मिति, लगाइएका खोपहरु लगायतको विवरण उल्लेख गरिन्छ ।


केन्द्रका अधिकारीहरुका अनुसार एउटा माउले १७ वर्षसम्म बच्चा जन्माउन सक्छ । त्यसरी एउटा घोडा जन्मिएपछि प्रयोगमा ल्याउने गरी पूर्ण रुपमा तयार गर्न ३ वर्ष लाग्छ ।
माउ घोडाको गर्भमा रहने समय ११ महिनाको हुन्छ । जन्मिएपछि उसले ६ महिनासम्म दूध खान्छ । त्यस प्रक्रियामै डेढ वर्ष लाग्छ । तीन वर्षमा भने घोडा पूर्ण रुपमा तयार हुन्छ । यसरी तयार भएको भाले घोडालाई स्टालिन भनिन्छ ।


केन्द्रमा हरेक घोडाहरुका तबेला छुट्टाछुट्टै छन् । भाले र पोथी घोडा वेग्लावेग्लै राखिन्छन् । अशक्त र विरामी छुट्टै राखिन्छन् । त्यस्तै, खानपिनको वस्तोवस्तीदेखि हरेक प्रक्रिया वेग्लावेग्लै स्थानमा हुन्छ । गर्भ बोकेकाहरुलाई पनि वेग्लै राखिन्छ । उनीहरुलाई चिकित्सकको सल्लाह अनुसार पौष्टिक आहार पनि दिइन्छ ।


कतिपयले जुम्लिहा सन्तानलाई पनि जन्म दिएका छन् । तर, अहिलेसम्म त्यस्ता घटनामा घोडाका बच्चाहरु जीवित रहन सकेका छैनन् ।
यहाँ घोडाको उत्पादन मात्रै हुन्छ भने तालिम भने काठमाडौंमा रहेको नेपाल क्याभलरी मै दिइन्छ ।
सुरक्षा अधिकारीका अनुसार घोडाको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको पाइन्छ । पहिलो र दोस्रो विश्व युद्धमा पनि घोडाको प्रयोग भएको भेटिन्छ । तर नेपालमा चाहिँ कहिलेदेखि घोडाको प्रयोग भयो भन्ने इतिहास नभेटिए पनि यातायातको साधान उपलब्ध नहुँदा धेरै विकल्पको रुपमा घोडा र हात्तीको प्रयोग हुँदै भएको थियो । नेपालमा विभिन्न राष्ट्रिय कार्यक्रमहरुमा पनि घोडाको प्रयोग हुन्छ । प्रायः घोडे जात्रामा प्रयोग हुने घोडा नेपाली जातकै हुन्छ ।


घोडा सामान्यतया दुई किसिमको हुन्छ । डफ्ट हर्स, जुन गाडा तान्न प्रयोग हुने गर्छ । चितवनको केन्द्रमा भने पर्चेरोन, बोराइकर लागयतका घोडा उत्पादन हुन्छ । जसले बग्गी तान्ने काम गर्छन् ।
त्यसैगरी अर्को प्रकार भनेको ‘लाइट हर्स’ हो । जुन ‘राइडिङ’ मा प्रयोग हुन्छ । यो अरबियन, थरोग लगायतका प्रजातिका हुन्छन् । देवीदेवताको प्रतीकका रुपमा घोडाहरुलाई त्यहाँ राख्ने गरिएको अधिकारीहरुको भनाइ छ ।


यहाँ राखिएका घोडाहरुको नाम राख्ने गरिएको छ । केन्द्रमै जन्मिएकालाई सकेसम्म सजिलो नेपाली नाम दिइने गरिन्छ । पहिचानका लागि सहज होस् भनेर नेपाली नाम राख्ने गरिएको हो । यद्यपि, विदेशबाट ल्याइएका घोडाहरुको भने त्यहाँकै नाम प्रयोग गर्ने गरिन्छ ।


उत्पादनको वेला पनि सहज होस् भनेर बुबाको नामको एक अक्षरलाई जोडेर बच्चाको नाम राख्ने प्रयास पनि गरिएका छन् । अहिलेसम्म नेपालले अन्य देशलाई घोडा उपहार दिएको रेकर्ड भने छैन । नेपालभित्रै चाहिँ केही अघि महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १० वटा घोडा सेनाले उपहार स्वरुप दिएको थियो ।


केन्द्रका अधिकारीहरुले घोडाको आहारमा पनि विशेष ध्यान दिने गरेका छन् । उनीहरुले हरेक तबेलामा खानपिनको टेबल अनुसार घोडालाई प्रकारका खानेकुरा खुवाइन्छ । एउटा दाना भने अर्को घाँस, पराल आदि दिने गरिन्छ । दानामा चना, जौ, चोकर, नुन, भिटामिन, सोयाबिन, आलसको तेल लगायत मिसिएको हुन्छ । टेन्डर प्रक्रियामार्फत खरिद गरिएको दाना दैनिक ३ पटक घोडालाई खुवाइन्छ । घोडाको खान्कीमा मात्रै वार्षिक ८ लाख रुपैयाँ खर्च हुने गरेको देखिन्छ ।


केन्द्रले हाल माग अनुसार घोडाको उत्पादन गर्न सकिरहेको छैन । भाले घोडाहरु ५ देखि ७ वर्षको अन्तरालमा अर्को फर्मबाट मगाउनु पर्छ । स्वदेशमा अन्य घोडा उत्पादन केन्द्र नहुँदा भारत, पाकिस्तान लगायतको देशबाट ल्याउनु परेको हो । उपहारको रुपमा ल्याउन सजिलो भए पनि किन्न भने घोडा धेरै महंगो पर्ने अधिकारीहरु बताउँछन् । अरुको भर पर्नु पर्ने बाध्यता हट्नका लागि वार्षिक २५ वटा बच्चा उत्पादन हुनु पर्ने चिकित्सकहरु बताउँछन् । अहिले वार्षिक रुपमा १५ वटा घोडाको माग नेपाल क्याभलरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij