काठमाडौं–बुढानिलकण्ठस्थित बेथेस्टा होम पुनर्स्थापना केन्द्रबाट बुधबार १२ वर्षीया एक किशोरी भागेकी थिइन्। केन्द्रबाट भागेर उनी सिधै घर गइन्। र, केन्द्रमा हुने यातना तथा अमानवीय घटनाको बेलिविस्तार लगाइन्।
परिवारले बिहीबार काठमाडौं प्रहरी परिसरमा यसबारे उजुरी दियो। उजुरी छानबिनका क्रममा अन्य दुई महिला पनि यातना सहन नसकेर भागेको पत्ता लागेको थियो।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाका अनुसार ती किशोरीको बयानका आधारमा बिहीबारै उक्त पुनर्स्र्थापना केन्द्रमा छापा मारिएको थियो।
छापा मारेर ५१ जनालाई पीडितलाई त्यहाँबाट उद्धार गरिएको लामाले बताए। लामाका अनुसार कृपाघर पनि भनिने सो पुनर्स्थापना केन्द्रमा प्रहरी पुग्दा केही युवतीहरू भागे।
धेरैजसो रोए, कराए। ‘हामीलाई बचाउनुस्, यहाँ हाम्रो बिजोग भएको छ,’ उनीहरूले भने।
लामाका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसमेत सम्मिलित टोलीले उनीहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिसकेको छ।
पीडितहरुले बयान दिँदै उक्त केन्द्रमा कुटपिट गरी यातना दिने गरेको बताएका छन्। ‘औषधि उपचारको व्यवस्था रहेनछ, सबैलाई यातना दिने गरिएको रहेछ,’ लामाले भने।
लामाका अनुसार कतिपय हिँड्न पनि नसक्ने अवस्थामा थिए। कतिपय मानसिक रुपमा विक्षिप्त छन्। १२–६० वर्ष उमेर समूहका किशोरी तथा महिलाहरुलाई आफन्त र माइती नेपालको जिम्मा लगाइएको छ।
केन्द्रकी सञ्चालिका श्रुती गुरुङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूविरुद्ध शुक्रबार मुद्दा दायर गरी आवश्यक कारबाही थालिने लामाले बताए।
सेन्टरमा एक जना रसियन नागरिक महिला दुई वटा बच्चासहित बसेकी थिइन्। गैरकानुनी रुपममा राखिएकी ती महिलालाई पनि माइती नेपालको जिम्मा दिइएको लामाले बताए। यस्तो मुद्दामा अमानवीय व्यवहार अपराध अन्तर्गत मुद्दा चलाउने गरिएको छ। कसुर हेरेर पीडकहरुलाई मुद्दा चलाउने तयारी भइरहेको लामाले बताए।
पुनर्स्थापना केन्द्रमा ६० जनालाई राखिएको बुझिएको छ। भागेका ९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij