एजेन्सी-भारतको उत्तरपूर्वी राज्य आसाममा निर्माण गरिएको एक सामारिक महत्वको पुल मंगलबारबाट सञ्चालनमा आएको छ । पुल सडकको सवारी साधन र रेल दुवैको लागि प्रयोग गर्न सकिने खालको छ ।
४.९ किमि लामो उक्त पुल सडक यातायात र रेल मार्ग भएको सबैभन्दा लामो पुल हो । भारतले चीनसँग जोडिएको संवेदनशील सिमानाको प्रतिरक्षा क्षमता वृद्धि गर्ने उद्देश्यले यो पुलको निर्माण गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मानिसहरुको उपस्थितिमा पुल सुचारु भएको घोषणा गरे ।
ब्रम्हपुत्र नदीमाथि बनेको ‘बोगिबील पुल’को जग दुई दशक अघि सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री एच.डी.देवेगोेवडाले जग हालेको भए पनि सन् २००३ मा अटल विहारी बाजपेयीको पालामा पुलको काम सुचारु भएको थियो ।
हाल आएर हिजो अटल बिहारी बाजपेयीको जन्मदिनमा पुलको उद्घाटन गरिएको छ । भारतले सामरिक रुपमा महत्व दिएको यस पुलको निर्माणमा ५९ अर्ब भारु खर्च भएको छ । पुलले १२० वर्षसम्म सेवा दिन सक्ने बताइएको छ । आसामको दिब्रुगा सहर नजिक रहेको यस पुलले चीनसँग सिमाना जोडिएको छिमेकी अरुणाञ्चल प्रदेशमा भारतीय सेनाको तैनाथीलाई तीव्रता प्रदान गर्नेछ ।
पुल सुचारु भएसँगै दिब्रुगादेखि अरुणाञ्चल प्रदेशको राजधानी इटानगरको दूरी ७५० किमिले कम भएको छ । भारतले सन् १९६२ को चीनसँगको युद्धमा अरुणाञ्चलको केही भूभाग गुमाएको थियो । पुललाई भारतको सबैभन्दा गहुँगो ६० टनको युद्धतोप थेग्न सक्ने अतिरिक्त लडाकू विमान अवतरण गर्न सकिने गरि डिजाइन गरिएको छ ।
भारतले यस अघिनै सन् २०१७ मा आसाम र अरुणाञ्चल प्रदेश जोड्न ९.१ किमी सडक यातायात मात्र चल्ने पुल बनाएको छ । उक्त संरचना पनि उसले आफ्नो सामारिक प्रतिरक्षा क्षमता वृद्धि गर्ने उदेश्यपुर्तिको लागि निर्माण गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij